एमालेमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२१ चैत, काठमाडौं — नेकपा एमाले भित्र प्रतिनिधि सभा निर्वाचनमा कमजोर प्रदर्शनपछि नेतृत्व परिवर्तनको माग तीव्र बन्दै गएको छ। यही दबाबका बीच विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरु गरिएको छ।

पार्टीभित्र निर्वाचन समीक्षा ढिलो भएको भन्दै केही नेता तथा कार्यकर्ताले विशेष महाधिवेशन नै अहिलेको समाधान भएको तर्क गरेका छन्। उनीहरूले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनका लागि औपचारिक प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।

एमालेको विधान अनुसार दुई तिहाइ जिल्ला कमिटी वा बहुमत महाधिवेशन प्रतिनिधिले लिखित माग गरे ६ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार हस्ताक्षर संकलन सुरु गरिएको स्रोतले जनाएको छ।

हस्ताक्षर अभियानमा संलग्न नेताहरूले निर्वाचन परिणामलाई गम्भीर संकेतका रूपमा व्याख्या गरेका छन्। प्रत्यक्षतर्फ अत्यन्त कम सिट जित्नु र समानुपातिक मत पनि घट्नुले पार्टीप्रति जनविश्वास कमजोर भएको उनीहरूको भनाइ छ। विशेषगरी काठमाडौं उपत्यकामा ठूलो पराजयले पार्टीभित्र चिन्ता बढाएको उल्लेख गरिएको छ।

यसबीच पार्टी नेतृत्व भने विशेष महाधिवेशनको पक्षमा खुलेर देखिएको छैन। केही पदाधिकारीहरूले अहिलेको अवस्थामा आन्तरिक छलफल र समीक्षा आवश्यक रहेको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली हिरासतमा रहेको अवस्थालाई समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।

शुक्रबार बसेको सचिवालय बैठकले भने निर्वाचनको प्रारम्भिक समीक्षा सुरु गरेको जनाएको छ। महासचिव शंकर पोखरेल द्वारा जारी वक्तव्यमा निर्वाचनबाट आएको जनमतलाई सम्मान गर्दै विजयी उम्मेदवारहरूलाई बधाई दिइएको उल्लेख छ।

त्यसैगरी नयाँ प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि बधाई दिइएको छ।

पार्टीभित्र नेतृत्व परिवर्तनको बहस भने अझै जारी छ। उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराई लगायत नेताहरूले नेतृत्व पुनर्गठनको विषयमा सार्वजनिक रूपमा धारणा राख्दै आएका छन्।

स्रोतका अनुसार विशेष महाधिवेशनको माग विशेषगरी युवा नेताहरूबाट अघि बढाइएको हो। पछिल्ला दिनमा पार्टी कार्यालय आसपास प्रदर्शन, प्लेकार्ड र प्रतीकात्मक गतिविधि मार्फत दबाब बढाउने प्रयास भइरहेको छ।

 

Leave a Comment