१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा चितवन राइनोजले टस जित्दै जनकपुर रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
आजको खेलका लागि चितवनले टोलीमा दुई परिवर्तन गरेको छ। दीपक बोहरा र रिजन ढकालको स्थानमा अमरसिंह राउटेला र आइकोनिक खेलाडी सौगात ढकाललाई सामेल गरिएको छ।
चितवन पछिल्ला खेलहरूमा विदेशी खेलाडीमाथि धेरै निर्भर देखिएको छ। पहिलो खेलमा जित निकालेको टोली दोस्रो खेलमा पराजित भएको थियो। तेस्रो खेलमा सुधार देखाए पनि चौथो खेलमा पुनः हार बेहोरेको थियो।
जनकपुरले पनि आजको खेलका लागि दुई परिवर्तन ल्याएको छ। ललित राजवंशी र किशोर महतोको ठाउँमा अनिल साह र सचिन भट्ट अन्तिम ११ मा परेका छन्।
अघिल्लो खेलमा जनकपुरले कप्तान अनिल साहलाई बेन्चमा राख्दै दक्षिण अफ्रिकी वायन पार्नेललाई कप्तानी दिएको थियो, तर नतिजा सुधार गर्न सकेन।
जनकपुरले यसअघि काठमाण्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग लगातार चार हार बेहोरेको छ। आजको खेल जितेमा मात्र जनकपुर गणितीय रूपमा प्लेअफ प्रतिस्पर्धामा टिक्न सक्नेछ।
चितवनले कर्णाली याक्सलाई हराउँदै प्रतियोगिता सुरु गरे पनि दोस्रो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो। त्यसपछि विराटनगर किङ्सलाई हराउँदै मनोबल बटुलेको चितवन काठमाण्डु गोर्खाजसँग भने हार बेराएको थियो। अब उसले सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ।
४ खेलमा २ जितसहित ४ अंक जोडेको चितवनका लागि आजको खेल जितेमा प्लेअफ नजिक पुग्ने अवसर छ। हार भएमा प्लेअफ प्रवेशका लागि बाँकी खेलमा निर्भर हुनुपर्नेछ।



Leave a Reply