अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली भारत प्रस्थान

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं — नेपाल राष्ट्रिय महिला फुटबल टोली भारतमा हुने अन्तर्राष्ट्रिय त्रिदेशीय महिला फुटबल प्रतियोगितामा सहभागी हुन बुधबार भारत प्रस्थान गरेको छ।

भारतको सिलोङमा आयोजना हुने प्रतियोगितामा आयोजक भारतसहित नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ। त्रिदेशीय प्रतियोगिता सकिएपछि नेपालले भारतसँग एक मैत्रीपूर्ण खेल पनि खेल्नेछ।

कार्यतालिका अनुसार नेपालले पहिलो खेल यही कात्तिक ७ गते इरानसँग खेल्नेछ भने दोस्रो खेल कात्तिक १० गते भारतविरुद्ध हुनेछ। त्यसपछि कात्तिक १३ गते नेपाल र भारतबीच मैत्रीपूर्ण खेल आयोजना हुनेछ।

प्रतियोगिताका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेकी प्रीति राई, सावित्रा भण्डारी (साम्बा), पूजा राई र एन्जिला तुम्बापो सुब्बा नेपाल फर्किएर टोलीमा सहभागी भएका छन्।

टोलीमा कप्तान सावित्रा भण्डारीको नेतृत्वमा अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, विमला विक, दीपा शाही, हीराकुमारी भुजेल, मनमाया दमाई, मीना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू र उषा नाथ रहेका छन्।

नेपाली टोलीको लक्ष्य यसपटक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हासिल गर्ने रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

Leave a comment