२८ मंसिर ,काठमाडौं
साफ महिला क्लब च्याम्पियनसिपमा नेपाली क्लब एपीएफ आज महत्वपूर्ण खेलमा मैदान उत्रिँदैछ। प्रतियोगिताको आफ्नो तेस्रो खेलमा एपीएफले पाकिस्तानको कराँची सिटीको सामना गर्न लागेको हो।
हालसम्म दुई खेलबाट चार अंक जोडेको एपीएफका लागि आजको खेल फाइनल प्रवेशको सुनौलो अवसर हो। जित हासिल गरेमा एपीएफ सिधै उपाधि होडमा पुग्नेछ।
उता कराँची सिटीका लागि भने आजको खेल प्रतियोगिताको अन्तिम हुनेछ। तीन खेल खेलिसकेको कराँचीले दुई खेल बराबरी खेलेको छ भने एक खेलमा पराजय बेहोरेको छ। कराँचीको अंक २ मात्रै रहेकाले टोली दबाबमुक्त देखिएको छ।
आजै प्रतियोगिताअन्तर्गत पहिलो खेलमा भारतको इस्ट बंगाल र बंगलादेशको नसिरन स्पोर्ट्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल दिउँसो २ बजे दशरथ रंगशालामा सुरु हुनेछ।
एपीएफ र कराँची सिटीबीचको बहुप्रतीक्षित खेल भने साँझ दशरथ रंगशालामै हुनेछ। घरेलु दर्शकको समर्थनमा एपीएफ फाइनलको यात्रा तय गर्न मैदानमा उत्रिँदैछ।


