माज र अनिलको अर्धशतकमा जनकपुर बोल्ट्सको पहिलो जित

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१६ मंसिर, काठमाडौं।
अनिल शाह र पाकिस्तानी युवा अलराउण्डर माज सदाकतको शानदार अर्धशतकको बलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पहिलो जित हात पारेको छ। लगातार चार खेलको हारपछि जनकपुरले सोमबार चितवन राइनोजविरुद्ध १७७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

पहिलो जितसँगै जनकपुरले ५ खेलबाट २ अंक जोड्दै अंकको खाता खोलेको छ। यो जितले जनकपुरको प्लेअफमा पुग्ने सम्भावना पनि जीवित राखेको छ। चितवन भने ५ खेलमा तेस्रो हार व्यहोर्दै ४ अंकसहित चौथो स्थानमा झरेको छ।

माज र अनिलको धमाकेदार ब्याटिङ

पाकिस्तानी अलराउण्डर माज सदाकतले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनको दमदार पारी खेले। उनले २४ बलमै अर्धशतक प्रहार गरेका थिए।
अघिल्लो खेलमा बेन्चमा बसेका अनिल शाह प्लेइङ–११ मा फर्किएलगत्तै उत्कृष्ट प्रदर्शन गर्दै ३६ बलमा ४ चौका र ३ छक्का सहित ६१ रन बनाए।

माज र आसिफ शेखले पहिलो विकेटका लागि ४५ रन जोडे। आसिफ १७ बलमा १८ रनमा आउट भए। त्यसपछि माजले अनिल मल्लसँग दोस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जितको आधार तयार पारे।

अन्त्यतिर आदित्य महताले ७ बलमा २ चौका र १ छक्कासहित अविजित १८ रन थपे।
चितवनका सोहेल तनविर, कमलसिंह ऐरी र अमर सिंह राउटेलाले १–१ विकेट लिए।

मालान–अर्जुनको शतकीय साझेदारी

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले ओपनर डाविड मालानको उत्कृष्ट पारीमा २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। मालानले ५४ बलमा ४ चौका र ५ छक्का सहित सर्वाधिक ८० रन बनाए।
उनसँगै पहिलो पटक ओपनिङ गरेका अर्जुन साउदले ३९ बलमा ४ चौका र ३ छक्कासहित ५२ रन जोडे। दुबै ओपनरबीच ११२ रनको शतकीय साझेदारी भएको थियो, जुन यस सिजन पहिलो विकेटका लागि दोस्रो ठूलो साझेदारी हो।

ओपनिङ जोडी हटेपछि चितवनका मध्यक्रमका ब्याटर क्रमशः फ्लोप भए। सैफ जैब ७ रनमा आउट भए भने रबि बोपारा ३ रनमै पवेलियन फर्किए।

अन्तिम ओभरमा कप्तान कुशल मल्लले प्रभावशाली ब्याटिङ गर्दै १४ बलमा अविजित ३० रन (२ चौका, २ छक्का) जोडे।

Leave a comment