प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक, आसन्न निर्वाचनमुखी एजेन्डामा केन्द्रित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १९ मंसिर — आगामी माघ र फागुनमा हुने राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको तयारीलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले आज सर्वपक्षीय बैठक बोलाउनुभएको छ। बैठक अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा प्रमुख पाँच राजनीतिक दल—नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरु सहभागी हुनेछन्। साथै निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूमाथि पनि उपस्थितिको लागि आह्वान गरिएको छ।

आसन्न निर्वाचनलाई सहज, निष्पक्ष र शान्तिपूर्ण बनाउन आवश्यक तयारी तथा सहकार्यका विषयमा बैठक केन्द्रित हुने सरकारका स्रोतले बताएको छ। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते तोकिएकाले राजनीतिक दलहरूबीच सहमतिको वातावरण बनाउने प्रयत्नका रुपमा यस बैठकलाई हेरिएको छ।

Leave a Comment