२२ मंसिर, काठमाडौं ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप तीन विषयमा छुट्टै अनुसन्धान जारी रहेको जनाएको छ। आइतबार विशेष अदालतमा दायर गरिएको भ्रष्टाचार मुद्दासँगै आयोगले यी तीन विषयको विवरण पनि अदालतमा बुझाएको हो।
अख्तियारका अनुसार चीनियाँ ठेकेदार कम्पनीलाई दिइएको कर छुट, रनवे उचाइमा त्रुटिका कारण गरिएको छिनेडाँडा/रिट्ठेपानी डाँडा कटान र परामर्शदाता नियुक्ति—यी तीनै विषयमा अलग–अलग अनुसन्धान अधिकृत तोकिएका छन्।
कर छुट प्रकरण
विमानस्थल निर्माण सम्झौतामा ठेकेदार कम्पनीले आफैंले करसम्बन्धी दायित्व वहन गर्ने व्यवस्था भए पनि विभिन्न सरकारले चीनियाँ कम्पनीलाई कर छुट प्रदान गरेको विषय सार्वजनिक लेखा समितिले पहिल्यै ‘अनियमितता’ र ‘सरासर भ्रष्टाचार देखिने काम’ भनेर उल्लेख गरेको थियो।
लेखा समितिका अनुसार कर छुटको रकम मात्रै २ अर्ब २० करोड रुपैयाँ पुग्छ। यही विषयमा अख्तियारले छुट्टै फाइल बनाएर अनुसन्धान अघि बढाइरहेको छ।
डाँडा कटान र ३२ करोड भुक्तानी
रनवे उचाइ आवश्यकताभन्दा कम बनाइएकाले विमानस्थल अगाडिको छिनेडाँडा/रिट्ठेपानी डाँडामा कटान गर्नुपरेको थियो।
सम्झौता अनुसार उक्त काम ठेकेदारले आफैं गर्नुपर्ने थियो। तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ३२ करोड २ लाख रुपैयाँ भुक्तानी गरेको भेटिएपछि लेखा समितिले यसलाई ‘सिधै भ्रष्टाचारजन्य निर्णय’ भनेको थियो।
यही भुक्तानी कसरी, किन, र कसको निर्णयमा भयो भन्नेबारे अख्तियारले छुट्टै अनुसन्धान गरिरहेको छ।
परामर्शदाता नियुक्ति
सम्झौतामा ठेकेदार कम्पनीले नै २८ लाख अमेरिकी डलरको परामर्शदाता सेवा उपलब्ध गराउने उल्लेख छ। तर प्राधिकरणले आफ्नै बजेटबाट अर्को परामर्शदाता नियुक्त गरेको भेटिएको छ।
यस प्रक्रियामा आर्थिक अनुशासन उल्लङ्घन मात्र नभई नीतिविपरीत काम भएको दाबी गर्दै अख्तियारले यो विषयमा पनि अलग अनुसन्धान अघि बढाएको छ।
अनुसन्धान थप विस्तार
अख्तियारले अदालतमा पेश गरेको विवरणमा भनिएको छ— यी सबै घटनाक्रम फरक प्रकृतिका, फरक समयका र फरक निर्णयकर्ताका भएकाले छुट्टै अनुसन्धान अधिकृत तोकी क्रमशः फाइलहरू अघि बढाइनेछ।
यसअघि अख्तियारले दायर गरेको मुद्दामा ८ अर्ब ३६ करोड रुपैयाँ लागत बढाइएको शीर्षकमा मात्रै विगो दाबी गरिएको छ। बाँकी तीन प्रकरणको अनुसन्धान पूरा भएपछि थप कानुनी कारबाही अघि बढाइने जनाइएको छ।

