परिवारका तीन सदस्य एकैपटक शाखा अधिकृत, दुर्गम सोलुखुम्बुमा खुशीको वातावरण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२२ मंसिर ,सोलुखुम्बु – ‘घरमै बसेर धेरै पढेर सरकारी परीक्षामा सफल हुन्छ ?’ भन्ने भनाइलाई गलत सावित गर्दै सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ का एकै परिवारका तीन सदस्य एकैपटक लोक सेवा आयोगको शाखा अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी)मा सिफारिस भएका छन्।

ट्युसन सेन्टर नगई घरमै बसेर तयारी गरेका एकराज कुलुङ, उनकी पत्नी मनीषा कुलुङ राई तथा उनका कान्छा भाइ बालकुमार कुलुङको परिवारिक सफलताले अहिले गाउँमा मात्र होइन, जिल्लाभर चर्चा पाएको छ।

अग्रज एकराज कुलुङ भन्छन्, “धेरैले घरमै तयारी गरेर सफल हुन सकिँदैन भने। तर हामीले अरूका कुरा ध्यान नदिई आफ्नो लक्ष्यमा अडिग रह्यौँ। निरन्तर मेहनत नै हाम्रो मुख्य आधार रह्यो।”

दुर्गम क्षेत्र भनेर चिनिने महाकुलुङ–३ (पूर्व छेस्काम)का वडाध्यक्षसमेत रहेका उनका पिता दुर्गाबहादुर कुलुङ अहिले छोराबुहारीको सफलतामा गर्वित छन्। उनका चारै सन्तान निजामती सेवामा सक्रिय रहेका छन्।

यसपटक सिफारिस भएका तिनै जना यसअघि नै राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) पदमा कार्यरत थिए—एकराज र बालकुमार महालेखा परीक्षकको कार्यालयमा तथा मनीषा राष्ट्रिय किताबखानामा।

गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङका अनुसार वैदेशिक रोजगारीका क्रममा धेरै युवा विदेशिन थालेको समयमा एकै परिवारका सबै सदस्यले देशमै बसेर सरकारी सेवा रोज्नु सम्पूर्ण गाउँ र जिल्लाको गौरवको विषय हो।

कहिले कठोर पहाड र सीमित अवसरका कारण सरकारी सेवामा सहभागिता लगभग शून्यजस्तै रहेको छेस्काम क्षेत्रमा पछिल्लो वर्षहरूमा भने युवाहरूको उत्साहजनक उपस्थितिले सकारात्मक परिवर्तन देखिएको स्थानीयहरू बताउँछन्।

Leave a Comment