भ्रष्टाचारमा मुछिएका बारा पूर्वाधारका प्रमुख साहलाई तीन दिनभित्र रमाना लिन अख्तियारको ताकेताकाठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको माघ २ गते सरुवा गरेका पूर्वाधार कार्यालय बाराका विवादित प्रमुख राजेन्द्र साहले ४ महिनासम्म रमाना लिएका छैनन् ।
चार महिनासम्म रमाना नबुझी जिल्ला पूर्वाधार कार्यालय बारामै कार्यरत रहेका साहलाई तुरुन्त रमाना लिई खटाएको ठाउँमा हाजिर हुन जान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले २०८३ बैशाख ८ गते मधेश प्रदेश भौतिक पूर्वाधार बिकास मन्त्रालयमा लेखेर पठाइसकेपछि पनि उनी अझै पनि थमौती हुन लाखौं खर्च गर्न पनि तयार रहेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीदेखि शक्तिकेन्द्रमा धाइरहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको २०८२ चैत २७ गतेको निर्देशनपछि अख्तियारको बर्दिबास कार्यालयले ३ दिनभित्र रमाना लिएर संघीय सरकार अन्तर्गत सहरी विकास मन्त्रालयमा हाजिर हुन जान निर्देशन दिएपछि उनी २० औं लाख खर्च गरी सरुवा रोक्न दौडधूप गरिरहेका छन् ।
बारा क्षेत्र नम्बर ३ का रासवपाका सांसद अरविन्द साह र मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव संजय साह, मन्त्री राजकुमार गुप्ता र मुख्यमन्त्री कृष्ण यादवको समेत पावर लगाएर अख्तियारको निर्देशन पालना नगर्ने र पूर्वाधार कार्यालय बारामै थमौती हुन सातौं तहका कनिष्ट इन्जीनीयर राजेन्द्र साह लागेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मौखिक निर्देशन दिएर चालु आर्थिक बर्षको असार मसान्तसम्म सरुवा भइसकेका तिनै साहलाई नै निरन्तरता दिन लागेका छन् । मुख्यमन्त्री यादवलाई समेत प्रभावमा पार्न सफल भएका साह उनीमार्फत् पनि सरुवा रोकाउन लागेका छन् ।
बारा ३ का सांसद साह र भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव संजय साह सहोदर दाजुभाइ हुन् । राजेन्द्र साह पनि उनीहरुका आफन्त हुन् । राजेन्द्र साह पूर्वाधार कार्यालयका अति नै भ्रष्ट प्रमुखका रुपमा चिनिन्छन ्। उनी नारायणी प्रादेशिक अस्पताल निर्माणको भ्रष्टाचारमा निलम्बनमै परेका र अति विवादित सातौं तहका इन्जीनीयर हुन् ।
४० लाख घुस लेनदेन गरी निमित्त सचिव संजयले बरिष्ठ कर्मचारीलाई सरुवा गरी सातौं तहका राजेन्द्र साहलाई पुनः जिल्ला पूर्वाधार कार्यालय बाराको प्रमुख बनाएको आरोप लागेको थियो ।
राजेन्द्र साह निमित्त सचिव संजय साहका आफन्त र जस्तोसुकै भ्रष्टाचार गरी बुझाउन सक्ने खुबी भएकाले सरुवा भएको ४ महिनासम्म पनि रमाना नदिई बारा पूर्वाधार कार्यालयमै राखिरहेका छन् ।
अख्तियारको निर्देशनपछि रमाना बुझेर सहरी बिकास मन्त्रालय अन्तर्गत हाजिर हुन छाडेर उनी शक्तिकेन्द्रमा साम दाम बोकेर पूर्वाधार कार्यालयमा थमौती हुने चलखेलमा छन् । त्यसका लागि उनले बारा ३ का रास्वपा सांसद अरविन्द साहलाई समेत प्रयोग गरिरहेका छन् । र, अख्तियारमा समेत रकमकै बलमा मिलाउँछु भन्दै दौडिरहेका छन् ।
साभार :- नेपाल फेस






