२३ मंसिर ,काठमाडौ -उत्तरपूर्वी जापान सोमबार राति ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले कम्पित बनेको छ। स्थानीय अधिकारीहरूले अहिलेसम्म कम्तीमा ३० जना घाइते भएको पुष्टि गरेका छन्।
भूकम्पपछि हजारौँ मानिसहरू सुरक्षित स्थानतर्फ सारिएका छन्।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति १:१५ बजे गएको हो। यसको केन्द्रबिन्दु आओमोरीको तटदेखि करिब ८० किमी टाढा र ५० किमी गहिराइमा रहेको बताइएको छ।
एक समय जारी गरिएको सुनामी चेतावनी अहिले हटाइसकिएको भए पनि तटीय क्षेत्रमा ७० सेन्टिमिटरसम्म अग्ला छाल देखिएका थिए।
भूकम्पका कारण केही रेल सेवा रोकिएको, र हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको जनाइएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार वैज्ञानिकहरूले आगामी दिनहरूमा थप शक्तिशाली भूकम्पको सम्भावना रहेको भन्दै नागरिकलाई कम्तीमा एक हप्तासम्म ‘हाई-अलर्ट’ अवस्थामा रहन अपील गरेका छन्।
जापानकी प्रधानमन्त्री साने ताकाइचीले नागरिकलाई भूकम्प सुरक्षा तयारी पुनः जाँच गर्न आग्रह गर्दै भनिन्—
“झट्का महसुस हुनेबित्तिकै सुरक्षित स्थानतर्फ निस्कन तयार रहनुहोस्।”
अहिलेसम्म करीब ९० हजारभन्दा बढी व्यक्तिलाई घर छाड्न निर्देशन दिइएको रोयटर्सले जनाएको छ।

