अस्ट्रेलियाको गोलीकाण्डमा १५ जनाको मृत्यु, ४२ घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२९ मंसिर ,काठमाडौँ : अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिच क्षेत्रमा आइतबार भएको अन्धाधुन्ध गोली प्रहारमा मृत्यु हुनेको संख्या १५ पुगेको छ भने ४२ जना घाइते भएका छन्।

न्यु साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्सका अनुसार घटनामा १० वर्षीया बालिकासहित १५ जनाको ज्यान गएको हो। मृतकमध्ये एक जना आक्रमणकारी पनि रहेका छन्।

अस्ट्रेलियाली प्रहरीले गोलीकाण्डमा संलग्न व्यक्ति बुबा–छोरा भएको पुष्टि गरेको छ। प्रहरी आयुक्त माल लानियोनका अनुसार ५० वर्षीय बुबा र २४ वर्षीय छोरा आक्रमणमा संलग्न थिए। ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारिएको छ भने उनका २४ वर्षीय छोरा गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।

घटनापछि ड्युटीमा रहेका प्रहरी अधिकारीसहित ४२ जनालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीसँग वैध हतियार लाइसेन्स रहेको पाइएको छ। उनको नाममा दर्ता गरिएका छवटा हतियार घटनास्थलबाट बरामद गरिएको छ।

त्यसैगरी घटनास्थलबाट दुई वटा सक्रिय विस्फोटक उपकरण पनि फेला परेका थिए, जसलाई सुरक्षाकर्मीले सुरक्षित रूपमा निष्क्रिय पारेका छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आक्रमणको छानबिन र नियन्त्रणका लागि सबै आवश्यक स्रोतसाधन परिचालन गरिने बताएका छन्। साथै उनले अस्ट्रेलियाली समाजमा बढ्दो यहुदीविरोधी भावना अन्त्य गर्न सरकार दृढ रहेको स्पष्ट पारेका छन्।

Leave a Comment