वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को इरानसम्बन्धी युद्ध नीतिलाई चुनौती दिँदै अमेरिकी प्रतिनिधिसभाले सैन्य कारबाहीमा अंकुश लगाउने प्रस्ताव पारित गरेको छ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स ले इरानविरुद्ध थप सैन्य आक्रमण गर्न राष्ट्रपतिलाई रोक्ने उद्देश्यसहितको प्रस्ताव २१५ विरुद्ध २०८ मतले पारित गरेको हो। प्रस्तावको पक्षमा केही रिपब्लिकन सांसदसमेत उभिएपछि ट्रम्प प्रशासनलाई राजनीतिक रूपमा ठूलो झट्का लागेको विश्लेषण गरिएको छ।
अमेरिका र इजरायल ले इरानविरुद्ध सैन्य अभियान सञ्चालन गरिरहेका बेला संसद्को यो निर्णय आएको हो। युद्ध सुरु गर्नुअघि कंग्रेसको अनुमति नलिइएको भन्दै ट्रम्प प्रशासनको आलोचना हुँदै आएको छ।
यद्यपि प्रस्तावले तत्काल सैन्य कारबाही रोक्ने सुनिश्चितता भने गरेको छैन। अब उक्त प्रस्ताव अमेरिकी सिनेट मा छलफलका लागि जानेछ। रिपब्लिकनहरूको बहुमत रहेको सिनेटबाट प्रस्ताव पारित हुने वा नहुने विषय अझै अनिश्चित छ।
सिनेटबाट स्वीकृत भए पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्नेछन्। भिटो निष्क्रिय बनाउन भने संसद्का दुवै सदनमा दुईतिहाइ बहुमत आवश्यक पर्ने व्यवस्था छ।
यस घटनालाई अमेरिकी संसद्ले राष्ट्रपतिको युद्धसम्बन्धी अधिकारमाथि निगरानी बढाउने प्रयासका रूपमा हेरिएको छ, जसले इरान युद्धबारेको बहसलाई थप तीव्र बनाएको छ।
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको कदम, ट्रम्पलाई ठूलो झट्का
Leave a Comment
Leave a Comment






