विराटनगरलाई भारी पराजित गर्दै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएल फाइनलमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२३ मंसिर, काठमाडौं ।
सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै लगातार दोस्रो वर्ष सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान बनाएको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमले गत सिजनको सफलताको पुनरावृत्ति गर्ने संकेत देखायो। यससँगै लिग चरणमा विराटनगरसँग भोगेको हारको बदला समेत सुदूरपश्चिमले चुकायो।

विराटनगरको कमजोर ब्याटिङ, फाइनलको पहिलो मौका गुम्यो

१५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमै ७८ रनमा अलआउट भयो।
ओपनर फाफ डु प्लेसिसले ३६ रन बनाए पनि अन्य ब्याटरहरूले सहयोग गर्न नसक्दा विराटनगर एकतर्फी रुपमा पराजित भयो।
दोस्रो ओभरमै तीन विकेट गुमाउँदै संकटमा परेको विराटनगरले पावरप्लेमा ३४/३ मात्र बनाउन सक्यो। यो स्कोर यस सिजनकै सबैभन्दा कम टोटल र एनपीएल इतिहासकै तेस्रो न्यून स्कोर हो।

सुदूरपश्चिमका बलरहरूको दबदबा

हरमित सिंह, अविनास बोहरा र स्कट कुग्लेजिनले २–२ विकेट लिए।
त्यस्तै, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे।

सुदूरपश्चिमको बलियो पहिलो इनिङ

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेट गुमाएर १५५ रन बनाएको थियो।
ओपनर विनोद भण्डारी ‘माउन्टेन’ले ६३ रनसहित इनिङ सम्हाले।
उनीसँगै सेल्डन ज्याक्सनले २०, आरिफ शेखले २० तथा हरमित सिंहले १४ रन जोडे।

विराटनगरका लागि मार्चेन्ट डे लाङ्गे र प्रतिश जिसीले २–२ विकेट लिन सफल भए।

फाइनल प्रवेशका लागि विराटनगरलाई अर्को मौका

पहिलो क्वालिफायर हार्दै विराटनगरले फाइनलमा पुग्ने मौका गुमाए पनि उनीहरू अझै खेलबाट बाहिरिएका छैनन्।
अब उनीहरूले एलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्दै फाइनल प्रवेशका लागि अन्तिम प्रयास गर्नेछन्।
एलिमिनेटरमा बुधबार काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्।

Leave a Comment