जनकपुरधाम, २३ मंसिर — बलात्कार आरोपमा अनुसन्धानकालीन फरार सूचिमा रहेका जनमत पार्टीका निलम्बित केन्द्रीय सचिव बीपी साह मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषामा आत्मसमर्पण गरेका छन्।
धनुषाका एसपी रुगमबहादुर कुँवरका अनुसार साह प्रहरी समक्ष स्वयं उपस्थित भएका हुन्। केही महिनाअघि एक महिलाले उनकै विरुद्ध बलात्कारसम्बन्धी जाहेरी दर्ता गरेपछि उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो।
प्रहरीमा उपस्थित भएपछि साहले आफूलाई “चुनाव नजिकिँदै गर्दा मात्रै पक्राउ गर्ने तयारी भएको” महसुस भएकाले स्वेच्छिक रूपमा हाजिर हुन आएको बताइएकाे छ।
जाहेरी परेपछि जनमत पार्टीले उनलाई केन्द्रीय सचिव पदबाट निलम्बन गरिसकेको छ।
यसैबीच, जिल्ला अदालत धनुषाले साहलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।

