आन्दोलनमा मृत्यु भएकाप्रति काँग्रेस बाराको श्रद्धाञ्जली

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कलैया, भदौ २७ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराले भदौ २२ र २३ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति गहिरो श्रद्धाञ्जली प्रकट गरेको छ । विज्ञप्ति जारी गर्दै समितिले मृतक आत्माहरूको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

विज्ञप्तिमा आन्दोलन र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा घटेका दु:खद घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता संवेदनशील परिस्थितिमा सम्पूर्ण आस्थावान कार्यकर्ता, सर्वसाधारण र समुदायलाई संयमित रहन आग्रह गरिएको छ ।

समितिले सहकारी, सार्वजनिक सञ्चार गृह, उद्योग, व्यापार र व्यक्तिगत सम्पत्तिमा भएका तोडफोड, लुटपाट तथा आक्रमणजस्ता गतिविधिको निन्दा गरेको छ । त्यस्ता घटनाले समाजमा नकारात्मक असर पार्ने भएकाले सबै पक्षलाई संयमता अपनाउन अपील गरिएको छ ।

यसैगरी, मुलुकको वर्तमान राजनीतिक सङ्कट समाधानका लागि संविधानको रक्षा र कार्यान्वयन नै मूल बाटो भएको उल्लेख गर्दै नेपाली कांग्रेसले राष्ट्रपतिको नेतृत्वमा भइरहेको पहलको समर्थन गरेको छ ।

जिल्ला कार्य समिति बाराका सभापति राजेश राय यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति रामचन्द्र पौडेलज्यूको संविधानको संरक्षण र राजनीतिक निकासका लागि गरिएको पहल प्रशंसनीय छ, यसलाई नेपाली कांग्रेस बाराले पूर्ण समर्थन गर्दछ।”

Leave a Comment