२६ पुस २०८२, शनिबार-काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय केही व्यक्ति तथा समूहहरू लोकतान्त्रिक शक्तिहरूविरुद्ध एकीकृत रूपमा अघि बढिरहेको दाबी गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतलाई संकेत गर्दै उनीहरू देश निर्माणभन्दा विध्वंसतर्फ उन्मुख रहेको आरोप लगाए ।
उनका अनुसार सार्वजनिक जवाफदेहिता र जिम्मेवारीबिनै केही शक्तिहरू आफूलाई विकल्पको रूपमा प्रस्तुत गर्दै जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन् । ‘कुनै अवतारी व्यक्तिले आएर सबै समस्या जादूझैँ समाधान गर्छ भन्ने सोच फैलाइँदैछ,’ उनले भने, ‘यस्तो भ्रम लोकतन्त्रका लागि खतरनाक हुन्छ ।’
अध्यक्ष ओलीले लोकतान्त्रिक प्रणालीभित्र रहेर जनताप्रति उत्तरदायी भएर काम गर्नुको सट्टा बाहिरबाट दबाब सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको बताए । यस्तो प्रवृत्तिले देशको स्थायित्व र संस्थागत लोकतन्त्र कमजोर पार्ने उनको चेतावनी थियो ।
उनले लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भई यस्ता गतिविधिको प्रतिरोध गर्न आह्वानसमेत गरेका छन् ।

