माघ १४ — बारा
बाराको परवानीपुर गाउँपालिका–१ मा भएको आमा–छोराको जघन्य हत्या प्रकरणमा संलग्न आरोपमा प्रहरीले मृतककी बुहारी र उनका प्रेमीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २३ वर्षीया मनिता देवी मण्डल र प्रसौनी गाउँपालिका–७ बन्जरिया निवासी उनका प्रेमी धमेन्द्र महतो रहेका छन्।
प्रेम सम्बन्धका कारण एउटै परिवारका दुई जनाको हत्या र दुई जना घाइते भएको उक्त घटना परवानीपुर–१ रहरियाडमा घटेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मनिताले आफ्ना प्रेमी धमेन्द्रसँग मिलेर योजनाबद्ध रूपमा २८ वर्षीय श्रीमान् रामेश्वर मण्डल र ४६ वर्षीया सासु सुमिन्त्रा देवीको धारिलो हतियार प्रयोग गरी हत्या गराएकी हुन्।
घटनामा ५२ वर्षीय ससुरा जगरुप महतो र २२ वर्षीया नन्द रिना कुमारी मण्डल घाइते भएका छन्। दुवै जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी कार्यालय बाराका अनुसार घटनाको मुख्य योजनाकार मनिता देवी मण्डल रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनका प्रेमी धमेन्द्र महतो वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा कार्यरत थिए। उनी माघ १२ गते काठमाडौं आइपुगेपछि दुवै जना मिलेर हत्या योजना कार्यान्वयन गरेको प्रहरीको भनाइ छ।
घटनापछि प्रहरीले मनितालाई घरबाटै पक्राउ गरेको थियो भने धमेन्द्रलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको हो। हाल दुवै जनालाई प्रहरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






