न्यायोचित तलबको मागसहित बेलायतका आवासीय चिकित्सक १४औँ पटक हड्तालमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

लन्डन, २८ मंसिर
बेलायतका आवासीय चिकित्सकहरूले न्यायोचित तलबवृद्धिको माग गर्दै पाँच दिने हड्तालको घोषणा गरेका छन्। ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) का अनुसार हड्ताल डिसेम्बर १७ बिहान ७ बजेदेखि डिसेम्बर २२ बिहान ७ बजेसम्म चल्नेछ। यो सन् २०२३ यता चिकित्सकहरूले गर्दै आएको १४औँ चरणको हड्ताल हो।

बीएमएको दाबीअनुसार सन् २०२५ मा गरिएको तलबवृद्धिपछि पनि आवासीय चिकित्सकहरूको वास्तविक तलब सन् २००८ को तुलनामा करिब २० प्रतिशतले घटेको छ। बढ्दो महँगी, भारी विद्यार्थी ऋण र लामो कार्यघण्टाका कारण हालको तलबले जीवनयापन कठिन भएको उनीहरूको भनाइ छ।

विश्वकै उत्कृष्ट सार्वजनिक स्वास्थ्य सेवा प्रणालीमध्ये एक मानिने बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा सन् २०२४ मा करिब ३१७ अर्ब पाउण्ड खर्च भएको थियो, जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ११.१ प्रतिशत हो। एनएचएसले हरेक ३६ घण्टामा औसत १० लाख मानिसलाई सेवा दिँदै आएको छ।

तर यतिखेर बेलायत ‘सुपर फ्लू’ को चपेटामा परेको छ। इङ्गल्याण्डमा एक सातामै फ्लूका कारण अस्पताल भर्ना हुने बिरामीको संख्या ५५ प्रतिशतले बढेको छ। गत साता दैनिक औसत २ हजार ६ सयभन्दा बढी फ्लूका बिरामी अस्पताल भर्ना भएका थिए, जुन हालसम्मकै उच्च तथ्याङ्क हो।

यस्तो संवेदनशील अवस्थामा हड्तालको घोषणा भएपछि सरकारले चिन्ता व्यक्त गरेको छ। प्रधानमन्त्री किअर स्टारमर र स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले क्रिसमसको समयमा हुने हड्तालले स्वास्थ्य सेवा प्रणाली र बिरामीहरूको सुरक्षामा गम्भीर जोखिम निम्त्याउने चेतावनी दिएका छन्।

सरकारले उपभोक्ता मूल्य सूचकांक (सीपीआई) का आधारमा तलब वृद्धि पर्याप्त भएको दाबी गर्दै आएको छ। तर बीएमएका अनुसार अधिकांश आवासीय चिकित्सकहरू विद्यार्थी ऋणको बोझमा छन्, जसको ब्याजदर रिटेल प्राइस इन्डेक्स (आरपीआई) अनुसार गणना हुन्छ—यो सीपीआईभन्दा उच्च हुन्छ। नफिल्ड ट्रस्टको विश्लेषणले आरपीआई आधारमा हेर्दा सन् २००८ यता चिकित्सकको तलब करिब २० प्रतिशतले घटेको देखाएको छ।

सरकारले हालै नयाँ प्याकेज प्रस्ताव गर्दै आगामी तीन वर्षमा विशेष तालिम पद संख्या १ हजारबाट ४ हजार पुर्‍याउने, रोयल कलेज परीक्षा तथा सदस्यता शुल्कमा सहयोग गर्ने घोषणा गरेको छ। तर यसले बीएमएले माग गरेको २६ प्रतिशत तलब क्षय पूर्तिलाई समेट्न नसकेको संघको भनाइ छ।

बीएमएले हड्ताल फिर्ता लिने वा नलिने विषयमा आफ्ना सदस्यहरूसँग अनलाइन मतदानमार्फत परामर्श गर्ने जनाएको छ। मतदान हड्ताल सुरु हुनुभन्दा दुई दिनअघि बन्द हुनेछ।

आवासीय चिकित्सक को हुन्?

पहिले ‘जुनियर डाक्टर’ भनेर चिनिने यी चिकित्सकहरूलाई सेप्टेम्बर २०२४ देखि ‘आवासीय चिकित्सक’ नाम दिइएको हो। मेडिकल डिग्री र दुई वर्षको अनिवार्य तालिमपछि उनीहरू एनएचएसअन्तर्गत आपतकालीन सेवा, जिपी सर्जरी र विभिन्न विशेषज्ञ क्षेत्रमा काम गर्छन्।
इङ्गल्याण्डमा पहिलो वर्षका आवासीय चिकित्सकले वार्षिक करिब ३८ हजार पाउण्ड तलब पाउँछन्, जुन अनुभव र सेवावधि अनुसार बढ्दै आठ वर्षपछि करिब ७३ हजार पाउण्डसम्म पुग्न सक्छ।

Leave a Comment