श्रीलंकाका विश्वकप विजेता कप्तान अर्जुन रणतुङ्गालाई पक्राउ गर्न अदालतको अनुमति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

कोलम्बो, १ पुस २०८२
श्रीलंकाका विश्वकप विजेता क्रिकेट कप्तान तथा पूर्व पेट्रोलियम मन्त्री अर्जुन रणतुङ्गालाई भ्रष्टाचारसम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

पेट्रोलियम मन्त्रीका रूपमा कार्यरत रहँदा तेल खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा घूसखोरी तथा भ्रष्टाचारको आरोप जाँच आयोगले अनुसन्धान अघि बढाएको हो। आयोगका अनुसार रणतुङ्गा र उनका भाइहरूले लामो अवधिको तेल खरिद ठेक्का दिने प्रक्रिया परिवर्तन गरी आवश्यक कानुनी प्रक्रिया नपुर्‍याई उच्च मूल्यमा तेल खरिद गरेका थिए।

अनुसन्धान प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१७ मा भएका २७ वटा खरिद सम्झौताबाट राज्यलाई ५० लाख अमेरिकी डलरभन्दा बढी, करिब ८० करोड भारतीय रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको छ।

कोलम्बोका मजिस्ट्रेट असाङ्ग बोडारागामाले रणतुङ्गा हाल विदेशमा रहेको उल्लेख गर्दै स्वदेश फर्किएलगत्तै पक्राउ गर्न पूर्जी जारी गरिएको बताएका छन्।

सोही मुद्दामा संलग्न रणतुङ्गाका दाजु तथा सिलोन पेट्रोलियम कर्पोरेशनका तत्कालीन अध्यक्ष धम्मिका रणतुङ्गालाई सोमबार पक्राउ गरी जमानतमा रिहा गरिएको छ। श्रीलङ्का–अमेरिका दोहोरो नागरिकता भएका धम्मिकामाथि अदालतले विदेश यात्रा प्रतिबन्ध लगाएको छ। उक्त मुद्दाको अर्को सुनुवाइ मार्च १३ मा तोकिएको छ।

६२ वर्षीय बायाँहाते ब्याट्सम्यान अर्जुन रणतुङ्गाले सन् १९९६ मा अस्ट्रेलियालाई हराउँदै श्रीलंकालाई पहिलोपटक क्रिकेट विश्वकप जिताएका थिए।

रणतुङ्गा दाजुभाइविरुद्धको यो मुद्दा भ्रष्टाचारविरुद्ध कडा अभियानको नीतिसहित सत्तामा आएका राष्ट्रपति अनुरा कुमार दिसानायकेको सरकारले थालेको व्यापक अनुसन्धानको हिस्सा हो।

यसैबीच, रणतुङ्गाका अर्का भाइ तथा पूर्व पर्यटन मन्त्री प्रसन्ना रणतुङ्गा गत महिना बीमा ठगी मुद्दामा पक्राउ परेका थिए। उक्त मुद्दा अहिले अदालतमा विचाराधीन अवस्थामा छ।

Leave a Comment