मलेसियाको समुद्रमा डुङ्गा दुर्घटना, १४ आप्रवासी अझै बेपत्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मलेसियाको पश्चिमी तटीय क्षेत्र पांकोर नजिकै आप्रवासी बोकेको डुङ्गा डुब्दा १४ जना बेपत्ता भएका छन्। दुर्घटनामा परेका डुङ्गामा इन्डोनेसियाका ३७ जना कागजातविहीन आप्रवासी सवार रहेको जनाइएको छ।
पेराकस्थित मलेसियन मेरिटाइम इन्फोर्समेन्ट एजेन्सीका अनुसार सोमबार एक स्थानीय माझीले समुद्रमा केही मानिस तैरिरहेको देखेपछि घटनाबारे जानकारी दिएका थिए। त्यसपछि सुरक्षाकर्मीले तत्काल उद्धार अभियान सुरु गरेका थिए।
डुङ्गामा रहेका ३७ जनामध्ये २३ जनाको सकुशल उद्धार गरिएको छ भने बाँकी १४ जनाको अवस्था अझै अज्ञात रहेको अधिकारीहरूले बताएका छन्। बेपत्ताहरूको खोजीका लागि समुद्री डुङ्गा, हेलिकोप्टर र विमान परिचालन गरिएको छ।
एजेन्सीका निर्देशक मोहम्मद शुक्री खोटोबका अनुसार प्रारम्भिक अनुसन्धानमा ती आप्रवासीहरू गत मे ९ मा इन्डोनेसियाको किसरन क्षेत्रबाट मलेसियातर्फ हिँडेका थिए। उनीहरूको गन्तव्य पेनाङ, तेरेंगानु, सेलाङ्गोर र राजधानी क्वालालम्पुरलगायतका क्षेत्र रहेको खुलेको छ।
उद्धार गरिएका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ। मलेसिया रोजगारीको खोजीमा जाने दक्षिणपूर्वी एसियाली आप्रवासीहरूको प्रमुख गन्तव्य मानिन्छ। विशेषगरी निर्माण, कृषि र श्रम क्षेत्रमा काम गर्न ठूलो संख्यामा कागजातविहीन आप्रवासीहरू त्यहाँ पुग्ने गरेका छन्।
मानव तस्करीमा संलग्न गिरोहहरूले समुद्री मार्ग प्रयोग गरेर गैरकानुनी रूपमा आप्रवासी ओसारपसार गर्ने क्रम अझै जारी रहेको बताइन्छ। यसअघि पनि सन् २०२५ नोभेम्बरमा थाइल्यान्ड–मलेसिया समुद्री सीमाक्षेत्रमा यस्तै डुङ्गा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको थियो।

Leave a Comment