मधेश प्रदेशसभामा दुर्लभ एकमत, मुख्यमन्त्री यादवलाई सर्वसम्मत विश्वास

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

५ मंसिर,जनकपुरधाम । मधेश प्रदेशको राजनीतिमा विरलै देखिने दृश्य देखिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाको सम्पूर्ण समर्थनसहित विश्वासको मत प्राप्त गरेका छन् । सत्तापक्ष मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सदनमा उपस्थित सबै दलका सांसदले उनलाई विश्वासको मत दिएका हुन् ।

शनिबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ सांसद सबैले मुख्यमन्त्री यादवको पक्षमा मतदान गरे । उपसभामुख बबिता राउत इशरले सभाको अध्यक्षता गर्दै यादवले सिंगो सदनको विश्वास प्राप्त गरेको औपचारिक घोषणा गरिन् ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सातदलीय गठबन्धनका सबै घटक—जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी—ले मुख्यमन्त्री यादवलाई समर्थन जनाए । त्यस्तै, सरकार बाहिर रहेका राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टीले पनि विश्वासको मत दिएका छन् ।

गत मंसिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले मंसिर २१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसपछि चरणबद्ध रूपमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै उनले माओवादी केन्द्र र लोसपालाई पनि सरकारमा सहभागी गराएका थिए । हाल मुख्यमन्त्रीसहित मन्त्रिमण्डलमा ६ सदस्य छन् भने बाँकी मन्त्रालयहरू अझै पूर्णता पाउन बाँकी छन् ।

विश्वासको मत प्राप्त गरेसँगै संसदीय भागबण्डा मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेको मुख्यमन्त्री यादवले बताएका छन् ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मतका लागि ५४ मत आवश्यक पर्ने व्यवस्था छ । तर यादवले आवश्यक मतभन्दा धेरै, सर्वसम्मत समर्थन प्राप्त गर्दै आफ्नो राजनीतिक आधार अझ बलियो बनाएका छन् ।

यसअघि पनि मधेश प्रदेशमा सिंगो सदनबाट विश्वासको मत लिने उदाहरण देखिएको छ । दोस्रो कार्यकालका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले २०८० जेठ २९ गते सर्वसम्मत विश्वासको मत पाएका थिए । पछिल्लो समय भने विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्रीहरूले राजीनामा दिने क्रम जारी थियो ।

यस्तो राजनीतिक अस्थिरताबीच मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाएको सर्वसम्मत समर्थनलाई मधेश प्रदेशको शासन व्यवस्थामा स्थायित्वतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

Leave a Comment