प्रधानमन्त्री सुशीला कार्कीको मुस्ताङ भ्रमण, निर्वाचन तयारीबारे जानकारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

हिमाली क्षेत्रको अवस्था अवलोकन, स्थानीय र सुरक्षा निकायसँग छलफल

मुस्ताङ, फागुन ८ — प्रधानमन्त्री सुशीला कार्की शुक्रबार हिमाली जिल्ला मुस्ताङको भ्रमणमा पुगेकी छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा हिमाली क्षेत्रमा मौसमका कारण चुनाव प्रभावित हुन सक्ने आशंकाबीच उनले स्थलगत अवलोकन गरेकी हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले मुस्ताङका विभिन्न हिमाली बस्तीको अवस्था बुझ्दै स्थानीयवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरिन्। उनले निर्वाचन तयारी, यातायात तथा मौसमजन्य चुनौतीबारे स्थानीय तह र सुरक्षा निकायका अधिकारीहरूसँग जानकारी लिइन्।

निर्वाचन निर्धारित मितिमै एकै चरणमा सम्पन्न गर्ने सरकारको तयारी दोहोर्‍याउँदै उनले दुर्गम हिमाली क्षेत्रका मतदाताले पनि सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था मिलाइने बताइन्।

प्रधानमन्त्री कार्कीले मुस्ताङस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शनसमेत गरेकी छन्।

सरकारले हिमाली जिल्लामा चुनावी सामग्री ढुवानी, सुरक्षाको व्यवस्थापन र मतदाता सहभागिता सुनिश्चित गर्न विशेष तयारी गरिरहेको बताइएको छ।

 

Leave a Comment