मधेश प्रदेश सभामुखमा जसपा नेपालका यादव निर्वाचित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

जनकपुरधाम, ६ पुस । मधेश प्रदेश सभाको सभामुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार्फत यादव सातदलीय गठबन्धनका उम्मेदवारका रूपमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा यादवले ७२ मत प्राप्त गर्दा विपक्षमा २४ मत परेको थियो । बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित थिए । सभामुखको आसनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गरेकी हुन् ।

रामअशिष यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेपाली कांग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्तुत गरेका थिए । प्रस्ताव बहुमतले पारित भएपछि प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव मतदान प्रक्रियामा नै समावेश गरिएन ।

नवनिर्वाचित सभामुख यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी यसअघि जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारीमा कार्यरत थिए ।

यसअघि मधेश प्रदेशका सभामुख रहेका नेकपा एमालेका रामचन्द्र मण्डललाई सातदलीय गठबन्धनले पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट पदमुक्त गरेको थियो । सोही रिक्त पदका लागि आज नयाँ सभामुख चयन गरिएको हो ।

Leave a Comment