माइतीघरबाट जेनजी समूहको शान्तिपूर्ण आन्दोलन सुरु, १० बुँदे मागसहित प्रदर्शन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सोमबार, ७ पुस २०८२
काठमाडौं

जेनजी अभियन्तामध्ये एक मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले आज काठमाडौँको माइतीघर मण्डलाबाट शान्तिपूर्ण आन्दोलन सुरु गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेको समूहले सोमबार बिहान ११ बजे माइतीघरमा भेला हुन समर्थकहरूलाई आह्वान गरेको छ ।

ढुंगानाको समूहले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै १० बुँदे माग अघि सारेको छ । पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारले जेनजी पुस्ताको भावना र अपेक्षा सम्बोधन गर्न नसकेको आरोप लगाए । उनले देशलाई राजनीतिक स्थायित्व, न्याय र विश्वास दिलाउन सक्ने सर्वपक्षीय सरकार गठन अपरिहार्य भएको दाबी गरे ।

‘आज देशलाई यस्तो नेतृत्व चाहिएको छ, जसले सबै पक्षलाई साथमा लिएर संवाद गर्न सकोस्, न्याय सुनिश्चित गर्न सकोस् र मुलुकलाई शान्ति र स्थायित्व दिन सकोस्,’ ढुंगानाले भने । उनका अनुसार सरकारको सय दिने कार्यकालले जेनजी आन्दोलनको मर्म प्रतिनिधित्व गर्न नसकेको निष्कर्षमा समूह पुगेको छ ।

आन्दोलनमार्फत समूहले संविधान र राज्य संरचनामा सुधार, भ्रष्टाचार नियन्त्रणका लागि कडा संयन्त्र, अघिल्लो आन्दोलनका क्रममा पक्राउ परेकाको रिहाइ, विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चितता तथा विभिन्न आर्थिक शोषणबाट पीडित नागरिकलाई न्याय दिलाउनुपर्ने माग अघि सारेको छ ।

ढुंगानाको समूहले आन्दोलन शान्तिपूर्ण रहने जनाउँदै माग सम्बोधन नभएसम्म दबाबका कार्यक्रमलाई निरन्तरता दिने संकेत दिएको छ ।

Leave a Comment