१२ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका प्रमुख राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुन तयार भइसकेको बताएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भएको छलफलपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले कांग्रेस, एमालेसहित अन्य दलहरू पनि चुनावी प्रक्रियामा जान सहमत भएको स्पष्ट पारे।
देउवाका अनुसार सबै दलहरू निर्वाचनका लागि मानसिक र संगठनात्मक रूपमा तयारी अवस्थामा छन्।
“सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं,” उनले भने, “कांग्रेस रेडी छ, एमाले रेडी छ, अरू दलहरू पनि तयार छन्।”
शनिबार नै प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका सभापति देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गर्दै निर्वाचनमा सहभागी हुन औपचारिक आग्रह गरेकी थिइन्।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल गराउनु वर्तमान सरकारको मुख्य दायित्व भएको उल्लेख गरिन्।
“यो घर तपाईंहरूकै हो,” उनले नेताहरूसँग भनिन्, “म न्याय क्षेत्रबाट आएको व्यक्ति हुँ। राष्ट्रपतिबाट चुनाव गराउने जिम्मेवारी पाएपछि सरकार पूर्ण रूपमा निर्वाचन तयारीमा जुटेको छ।”
प्रधानमन्त्री कार्कीले सुरक्षा बाहेकका सबै मन्त्रालयको नियमित जिम्मेवारी अन्य मन्त्रीहरूलाई हस्तान्तरण गरेर आफू निर्वाचन व्यवस्थापनमा केन्द्रित भएको जानकारी दिइन्। उनले निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोत–साधन उपलब्ध गराइसकेको र सुरक्षाकर्मीको मनोबल उच्च रहेको पनि बताइन्।
“अब कुनै अन्योल नराखी राष्ट्रको भविष्यलाई ध्यानमा राख्दै स्थिर र दिगो लोकतन्त्रका लागि निर्वाचन सफल पार्नुपर्छ,” प्रधानमन्त्रीको भनाइ थियो, “यसमा सबै दलको सहभागिता अनिवार्य छ।”
बालुवाटारको बैठकपछि शीर्ष नेताहरूले निर्वाचन प्रक्रियामा सहकार्य गर्ने संकेत दिएका छन्। यसले आगामी चुनावका लागि राजनीतिक वातावरण क्रमशः सकारात्मक बन्दै गएको देखिएको छ।






