काठमाडौं, पुस १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै राजनीतिक दलमार्फत प्रतिस्पर्धा गर्ने सहमतिमा पुगेका छन्। आइतबार दुवैबीच ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएसँगै उनीहरूको राजनीतिक सहकार्य औपचारिक रूपमा अगाडि बढेको हो।
सम्झौताअनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, झण्डा, चुनाव चिन्ह ‘घण्टी’ तथा केन्द्रीय कार्यालय यथावत् रहनेछ। पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने सहमति भएको छ।
बालेन पार्टी राजनीतिमा सक्रिय हुने संकेत
सम्झौतामा बालेन शाह पार्टी राजनीतिमा सक्रिय रहने उल्लेख छ। आवश्यक परे उनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने सम्भावनासमेत खुला राखिएको छ। यसले स्थानीय तहबाट केन्द्रीय राजनीतितर्फ उनको भूमिकालाई औपचारिक बनाउने संकेत दिएको छ।
भ्रष्टाचारविरुद्ध आन्दोलनको अपनत्व
सम्झौतापत्रमा पछिल्ला वर्षहरूमा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने, ती आन्दोलनका घाइते तथा सहिद परिवारका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्य पनि समेटिएको छ।
संगठन सुदृढीकरण र आयोगमा कागजात अद्यावधिक
एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाइने, युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिइने उल्लेख छ। यस सम्झौताबमोजिम रास्वपाका सम्पूर्ण कागजात निर्वाचन आयोगमा छिट्टै अद्यावधिक गरिने जनाइएको छ।
अन्य वैकल्पिक शक्तिसँग सहकार्य खुला
सम्झौतामा लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत गरिएको छ। उम्मेदवार व्यवस्थापन र भावी एकताको विस्तृत ढाँचा भने आगामी दिनमा तय गरिने जनाइएको छ।
रवि लामिछानेको प्रतिक्रिया
सम्झौतापछि सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै “सहमति नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ” भन्ने धारणा सार्वजनिक गरेका छन्। उनले यो सहमति व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको आवश्यकता केन्द्रमा राखेर गरिएको दाबी गरेका छन्।
राजनीतिक वृत्तमा यो सहमति वैकल्पिक राजनीतिमा नयाँ मोडको रूपमा हेरिएको छ। रवि–बालेनको एकताले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढ्दै गएको छ।

