मधेश प्रदेश सरकार विस्तार, चार दलका ६ मन्त्री थपिँदा मन्त्रिपरिषद् पूर्ण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१६ पुस,जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएसँगै सरकार पूर्ण बनेको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले बुधबार चार राजनीतिक दलबाट ६ जना मन्त्री नियुक्त गर्दै लामो समयदेखि प्रतीक्षित मन्त्रिपरिषद् गठन पूरा गरेका हुन्।

नयाँ मन्त्रिपरिषद् विस्तारअनुसार नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री बनेका छन् भने श्यामप्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन्।

यस्तै जनमत पार्टीबाट वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् भने नेकपा (माओवादी केन्द्र)बाट फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्री बनेका छन्।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रिपरिषद् विस्तारसँगै मधेश प्रदेश सरकार अब पूर्ण क्षमताका साथ काम गर्ने अवस्थामा पुगेको छ।

मुख्यमन्त्री यादव गत १९ मंसिरमा सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले २१ मंसिरमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै तीन जना मन्त्री नियुक्त गरेका थिए। त्यसपछि २९ मंसिरमा दुई मन्त्री थप्दै मन्त्रिपरिषद् क्रमशः विस्तार गरिएको थियो। पछिल्लो विस्तारसँगै मधेश प्रदेश सरकारको संरचना पूर्ण बनेको हो।

Leave a Comment