पत्रकारमाथि कुटपिटको घटनाप्रति प्रेस जनमत संघको गम्भीर ध्यानाकर्षण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, १७ पुस २०८२ — प्रेस जनमत संघ, बारा शाखाका सचिव चन्द्रेश्वर प्रसाद चौरसिया (राजु) माथि केही अराजक व्यक्तिहरूको समूहले हत्या गर्ने कुत्सित मनसायसहित कुटपिट गरेको घटनाप्रति प्रेस जनमत संघ, बारा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघका अनुसार चौरसिया बारा जिल्लाको देवताल गाउँपालिका–२ गहिरियास्थित सार्वजनिक जग्गामा रहेको रुख कटानसम्बन्धी विषयमा समाचार संकलनका लागि पुगेका थिए। सोही क्रममा उपस्थित केही व्यक्तिहरूले उनीमाथि कुटपिट गरेका हुन्। कुटपिटबाट चौरसियाको शरीरका विभिन्न भागमा चोट लागेको छ भने टाउकोमा समेत गम्भीर चोट लाग्नुका साथै आँखाको रेटिनामा समस्या देखिएको जनाइएको छ।

समाचार संकलन गर्नु पत्रकारको नैतिक धर्म भएको उल्लेख गर्दै संघले यस्तो जघन्य अपराध अत्यन्त दुःखद र निन्दनीय भएको बताएको छ। प्रेस जनमत संघले पत्रकारमाथि भएको आक्रमणको घोर निन्दा तथा भर्त्सना गर्दै दोषीहरूलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न प्रशासनसँग माग गरेको छ।

साथै संघले पत्रकार र पत्रकारिताको सुरक्षा सुनिश्चित गर्दै स्वतन्त्र, निष्पक्ष र निर्भीक रूपमा पेशागत काम गर्न सक्ने वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ।

प्रेस विज्ञप्तिमा जिल्ला अध्यक्ष अनिल पाण्डेयको हस्ताक्षर रहेको छ।

Leave a Comment