धार्मिक सद्भाव बिगार्ने गतिविधिमा कडा कारबाही हुने चेतावनी, पर्सा प्रशासनको अपिल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२० पुस २०८२ | बारा

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय पर्साले सर्वसाधारणलाई संयमित रहन आग्रह गरेको छ । धनुषाको जनकपुरमा रहेको मस्जिदमा भएको तोडफोड घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै पर्सा प्रशासनले धार्मिक तथा सामाजिक विद्वेष फैलिने खालका गतिविधि नगर्न कडा चेतावनी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा सामाजिक सञ्जालमार्फत धर्म, समुदाय वा राष्ट्रिय एकतामाथि आँच पुर्‍याउने अभिव्यक्ति, भ्रामक सूचना र उत्तेजक सामग्रीको प्रशासनले निरन्तर निगरानी गरिरहेको उल्लेख छ । यस्ता गतिविधिमा संलग्न पाइए कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।

अपिलमा मुलुकी अपराध संहिता २०७४ का प्रावधान उल्लेख गर्दै धार्मिक स्थलमा क्षति पुर्‍याउनेलाई तीन वर्षसम्म कैद र कुनै धर्म वा समुदायको धार्मिक भावनामा आघात पुर्‍याउने कार्यमा संलग्नलाई दुई वर्षसम्म कैद तथा जरिवानाको सजाय हुने जनाइएको छ ।

त्यसैगरी, विद्युतीय कारोबार ऐन २०६३ अनुसार इन्टरनेट वा सामाजिक सञ्जाल प्रयोग गरी घृणा, द्वेष वा साम्प्रदायिक तनाव फैलाउने सामग्री प्रकाशन वा प्रसारण गरेमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको प्रशासनले स्मरण गराएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सबै नागरिकलाई जिम्मेवार अभिव्यक्ति दिन, कानुनको पालना गर्न र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सहकार्य गर्न आग्रह गरेको छ ।

Leave a Comment