२१ पुस,काठमाडौ-ओलीबाट लिखित वक्तव्य प्राप्त भएसँगै जेनजी आन्दोलनका क्रममा भएको दमन, हताहती र त्यसपछिका हिंसात्मक घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले सरोकारवालासँगको बयान संकलन प्रक्रिया करिब–करिब सम्पन्न गरेको छ । आयोग अब अन्तिम प्रतिवेदन लेखनको चरणमा प्रवेश गरेको जनाएको छ ।
२० पुस, काठमाडौं ।
जेनजी आन्दोलनको छानबिनका लागि गठित आयोगलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिखित बयान बुझाएका छन् । आयोगको टोली पत्र लिएर ओली निवास पुगेको थियो, जसको जवाफस्वरूप उनले सोही टोलीमार्फत आफ्नो लिखित धारणा बुझाएका हुन् ।
यसअघि ओलीले पुल्चोकस्थित मानवअधिकार आयोगमा उपस्थित भएर करिब साढे दुई घण्टा बयान दिएका थिए । तर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष भने उनले प्रत्यक्ष उपस्थित नभई लिखित जवाफ मात्र दिएका छन् । आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आयोगमा नजाने बताएका ओलीको लिखित बयानलाई आयोगले औपचारिक प्रक्रियाको महत्वपूर्ण उपलब्धि मानेको छ ।
आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार जेनजी आन्दोलनसँग सम्बन्धित अधिकांश सरोकारवालासँग बयान संकलन भइसकेको छ । “केही सीमित व्यक्तिबाहेक सबैको भनाइ लिएका छौं । अझै पनि कोही आफ्नो धारणा राख्न चाहनुहुन्छ भने आयोग तयार छ,” शर्माले बताए ।
आयोगले गृहमन्त्री, पूर्वगृहमन्त्री, काठमाडौं उपत्यकाका तत्कालीन प्रहरी प्रमुख, प्रहरी मुख्यालयका उच्च अधिकारी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, प्रमुख जिल्ला अधिकारी, गृहसचिव, मुख्यसचिवलगायतसँग बयान लिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले पनि सैनिक अधिकारीसहित आयोगमा पुगेर बयान दिएका थिए ।
त्यस्तै, आन्दोलनका क्रममा घाइते भएका व्यक्ति, शहिद परिवार, आन्दोलनका अगुवा, प्रत्यक्षदर्शी, चिकित्सक, अस्पताल प्रशासन तथा भीड नियन्त्रणका विज्ञहरूसँग समेत आयोगले घटना विवरण र प्रमाण संकलन गरेको छ ।
आयोगले मुख्य रूपमा भदौ २३ मा भएको अत्यधिक बल प्रयोग र त्यसबाट भएको हताहतीमाथि छानबिन गरेको छ भने भोलिपल्ट भदौ २४ मा भएको तोडफोड, आगजनी र विध्वंशबारे पनि तथ्य संकलन गरेको छ ।
अब आयोगले अत्यधिक बल प्रयोग र गैरन्यायिक हत्यामा संलग्नको पहिचान गरी फौजदारी जवाफदेहिताका विषय समेट्दै प्रतिवेदन तयार गर्ने तयारी गरेको छ । जेनजी आन्दोलनपछि ५ असोज २०८२ मा गठन भएको आयोगले तोकिएको समयसीमाभित्र सरकारलाई अन्तिम प्रतिवेदन बुझाउने तयारी गरिरहेको जनाएको छ ।





