२९ मंसिर ,काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। महाधिवेशनको दोस्रो दिन बन्दसत्र बिहान ८ बजेबाट सुरु हुने पार्टीले जनाएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार आइतबार साँझ प्रकाशित मतदाताको अन्तिम नामावलीमाथि आज बिहान ९ बजेसम्म दाबी तथा विरोध दर्ता गर्न सकिनेछ। ती दाबी–विरोधको छानबिन बिहान १० बजेसम्म सम्पन्न गर्ने तयारी गरिएको छ।
छानबिनपछि बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ। त्यससँगै बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारी फारम वितरण हुने निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म चल्नेछ। उम्मेदवारको प्रारम्भिक नामावली दिउँसो २:३० बजे सार्वजनिक गरिनेछ।
प्रारम्भिक सूची सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध उजुरी दिन दिउँसो २:३० बजेदेखि आधा घण्टाको समय छुट्याइएको छ। उजुरीमाथिको छानबिन छोटो समयमै टुंग्याएर साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार मंगलबार मतदान गरिनेछ। यस महाधिवेशनमा देशभरबाट २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन्।


