२२ पुस,वीरगञ्ज । धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी कर्फ्यु आदेश दिउँसो १ बजेसम्म लम्ब्याएको छ। आइतबारदेखि दुई समुदायबीच लगातार प्रदर्शन र झडपको स्थिति बनेपछि प्रशासनले सुरक्षाका कडा कदम चालेको हो।
सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि लागू गरिएको कर्फ्यु अवस्था सामान्य नबनेपछि थप समयका लागि विस्तार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिकाअन्तर्गत पूर्वमा बसपार्क, नगवा र इनर्वा क्षेत्रदेखि पश्चिममा सिर्सिया नदीसम्म तथा उत्तरमा गण्डक चोकदेखि दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लागू गरिएको छ। सो अवधिभर कुनै पनि प्रकारका सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न निषेध गरिएको छ।
प्रशासनले कर्फ्यु अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। अत्यावश्यक अवस्थामा बाहिर निस्कनुपरे नजिकको सुरक्षाकर्मी वा १०० नम्बरमा सम्पर्क गर्न भनिएको छ।
कर्फ्युका बेला एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकारकर्मी, कूटनीतिक नियोगका सवारी साधन तथा हवाई टिकटका आधारमा यात्रुहरूको आवतजावतलाई सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनको भनाइ छ।
लगातारको प्रदर्शनका कारण वीरगञ्जको अवस्था तनावग्रस्त बनेको छ भने शान्ति–सुरक्षाको अवस्था कायम राख्न थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

