राष्ट्रिय सभा चुनावको तयारीमा नेकपा, गठबन्धन र उम्मेदवारबारे शीर्ष तहमा छलफल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२२ पुस,काठमाडौं । राष्ट्रिय सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गठबन्धनको सम्भावना र उम्मेदवार चयनबारे आन्तरिक गृहकार्य तीव्र पारेको छ। यसै सिलसिलामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले परामर्श बैठक बोलाएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा राष्ट्रिय सभा निर्वाचनको रणनीति, सम्भावित तालमेल र समसामयिक राजनीतिक अवस्थाबारे गहन छलफल भइरहेको नेताहरूले बताएका छन्। बैठकमा नेकपासँग एकतामा आबद्ध घटक दलका शीर्ष नेताहरूको समेत सहभागिता रहेको छ।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। तीमध्ये एक जना राष्ट्रपतिबाट मनोनयन हुने व्यवस्था छ भने बाँकी १८ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ। उम्मेदवारको मनोनयन दर्ता भने भोलिदेखि सुरु हुँदैछ।

चुनावको मिति नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूबीच सिट बाँडफाँट र तालमेलको प्रयास तीव्र बन्दै गएको छ। यही सन्दर्भमा नेकपाले पनि आफ्ना उम्मेदवार कसरी अघि सार्ने र अन्य दलसँग सहकार्य गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्ने तयारी गरेको बुझिएको छ।

राजनीतिक समीकरण बदलिँदो अवस्थामा नेकपाको यो छलफललाई राष्ट्रिय सभा निर्वाचनको महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ।

Leave a Comment