मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत नेपाली महिला टोलीले आज चीनसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र चीनबीचको खेल बिहान ११ः४५ बजे वायोमास ओभलमा सुरु हुनेछ।
नेपालले लामो अन्तरालपछि चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो। सन् २०१९ पछि पहिलो पटक यी दुई टोली आमनेसामने हुन लागेका हुन्। त्यसयता दुवै टोलीमा धेरै परिवर्तन आइसकेकाले आजको खेललाई निकै चासोका साथ हेरिएको छ।
चीनले छनोटको पहिलो खेलमा इन्डोनेसियामाथि जित निकाल्दै सुखद सुरुवात गरेको थियो। त्यसैले नेपालविरुद्ध पनि लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा चीन हुनेछ। नेपालका लागि भने यो प्रतियोगिताको पहिलो खेल हो।
नेपाल र चीनबीच यसअघि भएका दुवै ट्वान्टी–२० अन्तर्राष्ट्रिय भेटमा नेपाल विजयी भएको इतिहास छ। जनवरी २०१९ मा भएको पहिलो भेटमा नेपालले चीनलाई १० विकेटले हराएको थियो भने त्यसको एक महिनापछि भएको दोस्रो खेलमा ५ रनको रोमाञ्चक जित निकालेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरियतामा नेपाल २२औँ स्थानमा रहेको छ भने चीन ४३औँ स्थानमा छ। वरियतामा अघि रहेकाले नेपाली टोली आत्मविश्वासका साथ मैदान उत्रने तयारीमा छ।
चीनविरुद्ध नेपालको चुनौती, महिला क्रिकेट टोली आज मैदानमा
Leave a Comment
Leave a Comment






