विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस बारा सचिवद्वय राजेश रौनियार र भैयाराम यादवको अपिल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा, पुस २४

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, बाराका सचिवहरू राजेश रौनियार र भैयाराम यादव ले पार्टीको विशेष महाधिवेशनलाई सफल बनाउन सबै महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तालाई सक्रिय र जिम्मेवार सहभागिताका लागि अपिल गरेका छन्।

सचिवद्वयद्वारा जारी संयुक्त बिज्ञप्तिमा नेपाली कांग्रेसको इतिहासमै महत्वपूर्ण मोडका रूपमा रहेको विशेष महाधिवेशन यही पुस २७ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको उल्लेख गरिएको छ। पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र तथा राष्ट्रिय हितका विषयमा गम्भीर निर्णय लिन यो महाधिवेशन महत्वपूर्ण हुने जनाइएको छ।

बिज्ञप्तिमा बाराबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिको समयमै, गरिमामय र जिम्मेवार उपस्थिति अनिवार्य रहेको उल्लेख गर्दै, नेपाली कांग्रेस केवल राजनीतिक संगठन मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला भएको पार्टी भएको स्मरण गराइएको छ।

सचिवद्वय रौनियार र यादवले यस्ता ऐतिहासिक घडीमा औपचारिक उपस्थितिमा मात्र सीमित नरही पार्टी र राष्ट्रको भविष्य दिशानिर्देशनमा प्रत्यक्ष रूपमा सहभागी हुनुपर्ने कर्तव्य सबै कांग्रेसजनको रहेको बताएका छन्।

जनताको आवाज र वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै अझ बढी एकताबद्ध, सुदृढ र जनमुखी नेपाली कांग्रेस निर्माण गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको विशेष महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सबै महामन्त्री सदस्य, महाधिवेशन प्रतिनिधि तथा पार्टीप्रति आस्था राख्ने कार्यकर्तालाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।

लोकतन्त्रको रक्षा तथा पार्टीको उज्ज्वल भविष्यका लागि सबैको साझा सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सचिवद्वयले विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित हुन हार्दिक अनुरोध गरेका छन्।

Leave a Comment