बारा, पुस २४ — विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी, बारा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बारा जिल्लाको प्रसौनी गाउँपालिका–१ नकटुवाबाट लागू औषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पुस २४ गते अपराह्न करिब ४ः३० बजे पतञ्जलीबाट नकटुवा तर्फ जाँदै गरेको BR01CL6079 नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडिको सिटमाथि कालो प्लास्टिकमा लुकाइ राखिएको २ किलो २४ ग्राम अफिम (२ पोका) फेला परेको हो।
अफिम ओसार–पसार गर्दै गरेको अवस्थामा कारमा सवार तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका–७ निवासी ३८ वर्षीय निलेश पटेल कुर्मी, पर्सा वीरगञ्ज महानगरपालिका–११ निवासी करिब ३२ वर्षीय जौवाद अहमद तथा पर्सा बिन्दाबासिनी गाउँपालिका–२ निवासी ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन्।
पक्राउ परेका व्यक्तिहरूलाई लागू औषध अफिमसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

