चार प्रदेशमा भारी वर्षाको सम्भावना, १६ जिल्लामा बाढीको मध्यम जोखिम

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असार २२ — मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका विभिन्न क्षेत्रमा वर्षा, मेघगर्जन, चट्याङ तथा हुरीको सम्भावना रहेको जनाएको छ। विशेषगरी कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका साथै कोसी र बागमती प्रदेशको तराई क्षेत्रमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशका हिमाली क्षेत्रका केही स्थान तथा कोसी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, बागमती, कर्णाली र मधेश प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। कोसी र गण्डकी प्रदेशका केही स्थानमा राति पनि भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
यता बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका १६ जिल्लाका साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ। यसका कारण आकस्मिक बाढीको मध्यम जोखिम रहने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, संखुवासभा र तेह्रथुम जिल्लाबाट बग्ने साना नदी तथा खोलामा बहाव बढ्न सक्ने सम्भावना छ।
मौसमविद्ले भारी वर्षा, चट्याङ, हुरी तथा आकस्मिक बाढीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

Leave a Comment