काठमाडौं, २५ पुस २०८२ — चरम आर्थिक संकटका कारण इरानमा जारी विरोध प्रदर्शनलाई लिएर सर्वोच्च नेता अयोतुल्लाह खामेनीले कडा प्रतिक्रिया दिएका छन् । राष्ट्रलाई सम्बोधन गर्दै उनले आन्दोलनलाई अराजक गतिविधि भन्दै केही समूह अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुशी पार्न सक्रिय भएको आरोप लगाए ।
बढ्दो महँगी, बेरोजगारी र स्वदेशी मुद्राको अवमूल्यनले जनजीवन कठिन बनेपछि इरानका विभिन्न शहरमा पछिल्ला हप्तादेखि निरन्तर प्रदर्शन भइरहेको छ । राजधानी तेहरानबाट सुरु भएको आन्दोलन अहिले देशका अन्य क्षेत्रमा समेत फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै खामेनीले प्रदर्शनलाई विदेशी शक्तिद्वारा निर्देशित षड्यन्त्रको परिणाम भने । उनले अमेरिका र इजरायलले इरानको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप लगाउँदै प्रदर्शनकारीलाई ‘विदेशीका लागि भाडामा काम गर्नेहरू’को संज्ञा दिए ।
‘केही अराजक तत्वहरू छन्, जो ट्रम्पलाई खुशी पार्न चाहन्छन्,’ खामेनीले भने । साथै उनले अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको हात हजारौं इरानीको रगतले रंगिएको दाबी गर्दै इरानले यस्ता गतिविधि सहन नसक्ने चेतावनी दिए ।
खामेनीले इस्लामिक गणतन्त्र बलिदान र संघर्षबाट स्थापित भएको उल्लेख गर्दै तोडफोड, आगजनी र हिंसात्मक गतिविधिमा संलग्न समूहसँग सरकार पछि नहट्ने स्पष्ट पारे । उनले अमेरिकाभित्रै गम्भीर समस्या रहेको भन्दै ट्रम्पलाई आफ्नै देशको अवस्था सुधारमा ध्यान दिन सुझावसमेत दिए ।
आणविक कार्यक्रमलाई लिएर अमेरिकाले लगाएका कडा प्रतिबन्धका कारण तेलमा आधारित इरानी अर्थतन्त्र गहिरो संकटमा परेको छ । यसकै असरस्वरूप दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिँदा जनआक्रोश चुलिएको हो ।
प्रदर्शनका क्रममा सरकारी भवन र सवारी साधनमा आगजनी भएका छन् भने हालसम्म कम्तीमा २२ जनाको मृत्यु भएको जनाइएको छ । आन्दोलनलाई नियन्त्रणमा लिन सरकारले इन्टरनेट सेवा बन्द गरेपछि प्रदर्शनकारीको आक्रोश झनै चर्किएको बताइएको छ ।

