प्रतिनिधिसभा निर्वाचनः बारा क्षेत्र नं ३ रास्वपाबाट चर्चामा युवा ईन्जिनियर प्रज्वल तिमिल्सिना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 5 मिनेट

२५ पुस,बारा-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बारा क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रज्वल कुमार तिमिल्सिना सम्भावित उम्मेदवारका रूपमा राजनीतिक वृत्तमा चर्चामा आएका छन्। स्थानीय स्तरमै जन्मिएका, हुर्किएका र लामो समयदेखि प्राविधिक क्षेत्रमा सक्रिय रहँदै आएका तिमिल्सिनाको राजनीतिक प्रवेशले बारा–३ को राजनीतिक माहोललाई थप उर्जावान बनाएको छ। विशेषतः युवामाझ उनको उम्मेदवारीले नयाँ उत्साह र आशा जगाएको देखिन्छ भने परम्परागत राजनीतिक दलहरूमा भने यसले केही असहजता र दबाब सिर्जना गरेको स्थानीय विश्लेषकहरू बताउँछन्।
देशको बदलिँदो राजनीतिक अवस्था, जनआकांक्षामा आएको परिवर्तन र राष्ट्रिय नेतृत्वमा युवाशक्तिको खाँचो महसुस भइरहेका बेला बारा क्षेत्र नं. ३ मा युवा उम्मेदवारको आगमनले सम्पूर्ण जिल्लाकै राजनीतिक वातावरणलाई सक्रिय बनाएको छ। भ्रष्टाचार, बेरोजगारी, कमजोर सुशासन र दिनप्रतिदिन बढ्दो युवा विदेश पलायनजस्ता समस्याले देश ग्रस्त भइरहेका बेला प्राविधिक पृष्ठभूमिबाट आएका तिमिल्सिनाको उम्मेदवारीलाई वैकल्पिक राजनीतिका रूपमा हेरिन थालेको छ।
कलैया उपमहानगरपालिका–७, बैरियाका स्थायी बासिन्दा तिमिल्सिना विकास, पारदर्शिता र जवाफदेही नेतृत्वका पक्षधर उम्मेदवारका रूपमा परिचित हुँदै गएका छन्। उनी आफूलाई वंश, शक्ति वा धनका आधारमा होइन, आफ्ना काम, अनुभव र सेवाका आधारमा राजनीतिमा प्रवेश गर्न खोजेको स्पष्ट पार्छन्। पारिवारिक पेशा कृषि भए पनि उनले प्राविधिक शिक्षा हासिल गरेका कारण कृषि र प्रविधि दुवै क्षेत्रमा व्यवहारिक अनुभव रहेको बताउँछन्। स्थानीय आवश्यकता र सम्भावनालाई केन्द्रमा राखेर दिगो विकासको स्पष्ट कार्ययोजना प्रस्तुत गर्नु नै आफ्नो प्रमुख उद्देश्य रहेको उनको भनाइ छ।
शैक्षिक पृष्ठभूमिका हिसाबले तिमिल्सिनाले कलैया उपमहानगरपालिका वडा नं. ७ स्थित दुर्गा माध्यमिक विद्यालयबाट एस.एस.सी. उत्तीर्ण गरेका हुन्। त्यसपछि काठमाडौँ भ्याली कलेजबाट आई.एस.सी. अध्ययन गरी भारतबाट इन्जिनियरिङ शिक्षा हासिल गरेका उनीसँग २५ वर्षभन्दा बढीको प्राविधिक अनुभव छ। उनले अमेरिकी दूतावास, बुटवल पावर कम्पनी तथा जर्मनी सरकारको सहयोगमा सञ्चालित जिटिजेड (GIZ) परियोजनामा वरिष्ठ प्राविधिकका रूपमा काम गरिसकेका छन्। ऊर्जा, जलविद्युत् र पूर्वाधार विकासमा विशेषज्ञ मानिने तिमिल्सिनाले देशका विभिन्न स्थानमा सफल परियोजनाहरूमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। यही अनुभवलाई आधार बनाएर बारा क्षेत्र नं. ३ को समग्र विकासका लागि नयाँ सोच र व्यवहारिक कार्ययोजना ल्याउने प्रतिबद्धता उनले जनाएका छन्।
तिमिल्सिनाले बारा–३ का लागि चार मुख्य विकास योजना सार्वजनिक गरेका छन्। पहिलो योजना ‘कृषि ऊर्जा’ हो। यसअन्तर्गत सौर्य सिँचाइ प्रणाली, कोल्ड स्टोरेजको पाइलट परियोजना सञ्चालन गरी किसानको उत्पादन र आम्दानी दोब्बर बनाउने लक्ष्य लिइएको छ। कृषि नै मुख्य पेशा रहेको बारा जिल्लामा आधुनिक प्रविधि भित्र्याएर किसानको जीवनस्तर सुधार्ने उनको भनाइ छ। साथै, मलखाद र बिउबिजनको अभाव जिल्लाको प्रमुख चुनौती रहेकाले समयमा मलखाद, गुणस्तरीय बिउबिजन तथा निःशुल्क कृषि मिटर वितरण गर्ने योजना पनि आवश्यक रहेको उनले बताएका छन्। आकाशे पानीको भरमा खेती गर्नुपरेका कारण मधेशको उर्वर भूमि बाँझो रहनु परेको अवस्थालाई अन्त्य गर्न आफ्नो शिक्षा र अनुभव कृषिमैत्री रूपमा प्रयोग गर्ने उनले स्पष्ट पारेका छन्।
दोस्रो योजना ‘युवा रोजगार’सँग सम्बन्धित छ। उनले ‘युवा प्राविधिक प्रशिक्षण केन्द्र’ स्थापना गर्ने प्रस्ताव अघि सारेका छन्, जहाँ विद्युत्, सोलार तथा एचभ्याक (HVAC) प्रविधिमा दक्ष जनशक्ति उत्पादन गरिनेछ। यसले स्थानीय युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक रोजगारीतर्फको बाध्यात्मक पलायन घटाउने विश्वास व्यक्त गरिएको छ।
तेस्रो योजना ‘स्मार्ट नगर’ अवधारणामा आधारित छ। कलैयालाई नमूना स्मार्ट सहरका रूपमा विकास गर्ने लक्ष्यसहित पानी व्यवस्थापन, फोहोर तथा मल प्रशोधन, जलविद्युत् उपयोग र डिजिटल सेवाको व्यवस्थित विस्तार गरिने तिमिल्सिनाले बताएका छन्। यसले शहरी जीवनलाई थप व्यवस्थित, सुरक्षित र सुविधाजनक बनाउने अपेक्षा गरिएको छ।
चौथो योजना ‘शिक्षा गुणस्तर’ सुधारसँग जोडिएको छ। स्थानीय विद्यालयहरूमा प्राविधिक ल्याब स्थापना, आधुनिक शैक्षिक सामग्री उपलब्ध गराई व्यवहारिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उनको प्रतिबद्धता छ।
युवा शक्तिको आवश्यकता औंल्याउँदै कलैया–५ का स्थानीय बासिन्दा बसन्त नेपाल भन्छन्, “देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र युवाको विदेश पलायनजस्ता समस्याको समाधानका लागि अब युवाकै नेतृत्व आवश्यक छ। यस्तो संकटको घडीमा प्रज्वल तिमिल्सिना जस्ता युवा इन्जिनियरको उम्मेदवारी आउनु युवाहरूका लागि खुसीको कुरा हो।” त्यस्तै, कलैया–७ का स्थानीय बासिन्दा कुन्दन धिमिरेका अनुसार पुराना राजनीतिक दलहरूको असफलताकै कारण युवाहरू बेरोजगार बनेर विदेशिन बाध्य भएका छन्। “देश भ्रष्टाचारमा लिप्त भएको कारण जेन–जी विद्रोह बढ्दै गएको हो। यस्तो अवस्थामा हामी प्रज्वल तिमिल्सिना जस्ता युवाको पक्षमा छौं,” उनले बताए।
पारदर्शी नेतृत्व, स्थानीय आवश्यकतामा आधारित विकास र जवाफदेही राजनीतिक संस्कार स्थापित गर्ने तिमिल्सिनाको प्रतिबद्धताले बारा–३ का मतदातामाझ नयाँ आशा र भरोसा सिर्जना गरेको स्थानीयवासीहरूको प्रतिक्रिया छ। आगामी निर्वाचनमा उनले जनताको विश्वास जित्न सक्ने हुन् कि होइनन् भन्ने विषय भने मतदानको परिणामले नै स्पष्ट गर्नेछ।

Leave a Comment