काठमाडौँ, २८ पुस २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीभित्र लामो समयदेखि दबिँदै आएको असन्तोषलाई सार्वजनिक मञ्चमा ल्याइदिएको छ। एकातिर भृकुटीमण्डपमा बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिले परिवर्तनको स्वर बुलन्द भएको छ भने अर्कोतिर सभापति शेरबहादुर देउवा महाराजगन्जस्थित निवासमा सीमित नेतासँग छलफलमै सीमित देखिएका छन्।
आइतबार कार्यक्रम सुरु हुनुअघि नै भरिएको भृकुटीमण्डप साँझ ६ः२५ बजे महामन्त्री गगन थापा प्रवेश गर्दा थप उत्साहित बन्यो। गगन बोल्न थालेपछि हल शान्त भयो, तर सन्देश गहिरो र स्पष्ट थियो—“यो नाम मात्रको विशेष महाधिवेशन होइन, यसलाई विशेष बनाएरै टुंग्याउनुपर्छ।”
तर ‘विशेष’ भनिएको महाधिवेशनको उद्घाटनमा सभापति देउवा, दुवै उपसभापति, अधिकांश सहमहामन्त्री र पूर्व पदाधिकारी अनुपस्थित रहे। उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरे। गगनले मञ्चबाटै असन्तोष व्यक्त गर्दै भने, “सभापतिज्यूले उद्घाटन गरेको हेर्न चाहन्थ्यौं, त्यो नभए कार्यवाहक सभापति भए पनि उपस्थित हुनुहुन्थ्यो भन्ने अपेक्षा थियो।”
बहुमत भृकुटीमण्डपमा, नेतृत्व महाराजगन्जमा
भृकुटीमण्डपमा देशभरबाट प्रतिनिधिहरू जुटिरहँदा देउवा भने महाराजगन्जमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र आफ्ना निकट नेताहरूसँग दिनभर छलफलमा व्यस्त रहे। देउवासँग छलफलमा सहभागी केन्द्रीय सदस्य रमेश लेखकका अनुसार सभापतिको मुख्य चिन्ता “जसरी पनि पार्टी जोगाउने” रहेको छ।
तर देउवा पक्ष गगन–विश्वको कदमप्रति अझै स्पष्ट छैन। उनीहरू विशेष महाधिवेशन यति ठूलो आकार लिन्छ भन्ने अनुमानमै थिएनन्। समानुपातिक सूची र राष्ट्रिय सभाको उम्मेदवारी छनोटमा देखिएको असन्तोषले कार्यकर्ता तहमा आगो थपेको विश्लेषण देउवा पक्षकै नेताहरू गर्छन्।
रोक्ने प्रयास असफल, प्रतिनिधि आफैं आए
संस्थापन पक्षले जिल्लास्तरमा विशेष महाधिवेशनमा नआउन परिपत्र गरे पनि प्रभाव परेन। ३० जना केन्द्रीय सदस्यसहित देउवा र शेखर समूहका धेरै नेता अन्ततः भृकुटीमण्डप पुगे। पूर्व उपसभापति गोपालमान श्रेष्ठदेखि शेखर कोइराला समूहका प्रभावशाली नेताहरू, कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसमेत विशेष महाधिवेशनमा सहभागी भए।
आयोजकका अनुसार आइतबार साँझसम्म २ हजार ६६२ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्, जसले बहुमतको दाबीलाई बल पुर्याएको छ। यद्यपि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने दाबी जति प्रतिनिधि नआएको प्रतिक्रिया दिएका छन्।
नीति कि नेतृत्व ? हलमै टुंगो लाग्ने संकेत
विशेष महाधिवेशनको सबैभन्दा ठूलो प्रश्न अहिले पनि खुलै छ—नेतृत्व परिवर्तन हुन्छ कि हुँदैन ?
महामन्त्री गगन थापाले विधानको हवाला दिँदै महाधिवेशन सर्वोच्च हुने र उसले नीति मात्र होइन नेतृत्व पनि छनोट गर्न सक्ने बताएका छन्। तर अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने पार्टी फुट्न नदिनु आफ्नो प्राथमिकता भएको भन्दै संयमित देखिए।
उद्घाटन सत्रमा केही नेताले नेतृत्व परिवर्तनको स्पष्ट माग गरे पनि धेरै वक्ता नीति, संगठन र जनआक्रोशको समीक्षा मै सीमित रहे। यसले प्रतिनिधिहरू स्वयं पनि तीन धारमा विभाजित रहेको संकेत दिएको छ—
नेतृत्व परिवर्तन गर्नैपर्ने
नियमित १५औँ महाधिवेशन कुर्नुपर्ने
नीति र संरचनात्मक सुधारमै सीमित हुनुपर्ने
बन्दसत्र निर्णायक मोडमा
सोमबार बिहानदेखि प्रतिनिधि नाम दर्ता पूरा गरेर बन्दसत्र सुरु हुने छ। यही बन्दसत्रले विशेष महाधिवेशन कुन दिशामा जाने हो भन्ने स्पष्ट गर्नेछ—पार्टी एकताको सन्देश दिएर नियमित महाधिवेशनतिर जाने कि नेतृत्व परिवर्तनको ऐतिहासिक निर्णय गर्ने।
यति भने स्पष्ट छ—
भृकुटीमण्डपमा देखिएको भीड केवल संख्या होइन, कांग्रेसको ग्रासरुटमा उम्लिएको असन्तोष र परिवर्तनको दबाबको प्रतिविम्ब हो। अब त्यो दबाबले पार्टीलाई एकतामा लैजान्छ कि नयाँ मोडमा पुर्याउँछ, निर्णय कांग्रेसकै हलले गर्नेछ।


