काठमाडौं, असोज १६ – नेपालीहरूको महान चाड बडादशैं आज देशभर आफन्तजनसँग भेटघाट गरी टीका र आशीर्वाद ग्रहण गरेर मनाइँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दशैं आफैंमा शुभ दिन भएकाले टीका लगाउन सर्वसाधारणले साइत हेर्नु पर्दैन। तर, राज्य सञ्चालकका लागि भने यस वर्ष बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम साइत तोकिएको छ।
समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईले भने, “दशैंको बिहानदेखि अपराह्नसम्म टीका लगाउन मिल्छ। अन्य कामका लागि साइत हेर्नु परे पनि सर्वसाधारणले साइत कुरिराख्न आवश्यक छैन। तर राजकाज चलाउनेहरुले उत्तम साइतमै टीका लगाउँदा राम्रो हुन्छ भन्ने शास्त्रीय मान्यता छ।”
धार्मिक परम्पराअनुसार टीका लगाउनुअघि दुर्गा विसर्जन गर्नुपर्ने हुन्छ। आज बिहान ९ बजेर २३ मिनेटमा दुर्गा विसर्जनको साइत तोकिए पनि घरबाट चाँडै निस्किनुपर्ने परिस्थितिमा झुल्के घाममै विसर्जन गरी टीका लगाउन सकिने बताइएको छ।
दुर्गा विसर्जनपछि कलशको जललाई पवित्र मानिन्छ। सो जल घरका विभिन्न स्थानमा छर्ने, जमरा काट्ने र कुलदेवता तथा पितृदेवतामा टीका–जमरा चढाउने परम्परा रहेको छ। त्यसपछि मात्र मान्यजनका हातबाट टीका ग्रहण गर्ने चलन छ।
यस्तै, कतिपय ठाउँमा घरको मूल ढोकामा र चारैदिशा टीका–जमरा चढाउने संस्कार पाइन्छ। गुरुपुरोहित स्थापना गरेको परिवारमा गुरुपुरोहितकै हातबाट, नभए मान्यजनबाट टीका लगाइने परम्परा रहिआएको छ।
टीका लगाउँदा दिने व्यक्ति पश्चिमतर्फ र लिने व्यक्ति पूर्वतर्फ फर्कनुपर्ने पञ्चाङ्ग समितिले जनाएको छ।
यसरी, दशैंको दिनलाई सम्पूर्णत: शुभ मानिने भएकाले सर्वसाधारणलाई टीका थाप्न साइत कुर्नुपर्ने बाध्यता नरहेको समितिको भनाइ छ।



Leave a Reply