४ माघ, काठमाडौं ।
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुरुआती खेलमै नेपालले हार व्यहोरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो।
नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमै मात्र २ विकेट गुमाउँदै सहज रूपमा पूरा गर्यो। खेल जित्ने क्रममा थाइल्यान्डकी नथाकन चन्थमले अविजित अर्धशतक प्रहार गर्दै ५७ रन बनाइन्। उनलाई नानपत कोन्चारोन्काईको ३२ र अफिसरा सुवानचोनराथीको २८ रनले राम्रो साथ मिल्यो।
नेपालका लागि बलिङतर्फ सीता रानामगरले दुई विकेट लिए पनि अन्य बलरले थाइल्यान्डका ब्याटरलाई रोक्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा १२२ रनमा अलआउट भएको थियो। नेपालको इनिङ्समा बिन्दु रावलले सर्वाधिक ४४ रन जोडिन्। अन्त्यतिर सम्झना खड्काले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २६ रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले २ छक्का र १ चौकासहित १७ रनको योगदान दिइन्।
थाइल्यान्डका बलर थिपात्चा पुथावङवले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिइन्। ओनिचा काम्चोम्फुले २ विकेट लिँदा अन्य बलरहरूले पनि किफायती बलिङ गरे।
पहिलो खेलमै हार बेहोरेको नेपालले अब प्रतियोगिताको दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल नेपालका लागि प्रतियोगितामा पुनरागमन गर्ने महत्वपूर्ण अवसर हुनेछ।

