काठमाडौं, माघ ५ – नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादकै बीच आगामी प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण प्रक्रिया तीव्र बनेको छ। मंगलबार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका नजिकिँदै जाँदा तीन गुटका शीर्ष नेताबीच निरन्तर छलफल भइरहे पनि ठोस सहमति भने बन्न सकेको छैन।
विशेष महाधिवेशनबाट निर्वाचित भई निर्वाचन आयोगबाट आधिकारिकता पाएको गगन थापा नेतृत्वको समूहले देउवा र शेखर कोइराला समूहलाई टिकट दिन सकिने संकेत गरे पनि त्यसका लागि स्पष्ट सर्त अघि सारेको छ। गगन पक्षले आयोगले दिएको आधिकारिकताविरुद्ध सर्वोच्च अदालतमा दायर रिट फिर्ता लिनुपर्ने अडान राखेको हो।
गगन समूहका एक नेताका अनुसार सभापति स्वीकारेर गगन थापाको हस्ताक्षरसहितको टिकट लिएपछि विशेष महाधिवेशनको वैधता स्वतः स्वीकार भएको मानिनेछ। “टिकट पनि लिने र उही विशेष महाधिवेशनलाई अवैध भन्दै अदालत जाने कुरा मिल्दैन,” ती नेताले भने।
गगन पक्षको यस प्रस्तावबारे देउवा र शेखर समूहले औपचारिक प्रतिक्रिया दिएका छैनन्। यद्यपि, विवाद समाधानका लागि सोमबार रातिदेखि सुरु भएको छलफल मंगलबार बिहान पनि जारी रहेको नेताहरूले बताएका छन्।
सोमबार राति भएको बैठकमा गगन थापा समूहबाट मधु आचार्य र देवराज चालिसे, देउवा समूहबाट रमेश लेखक तथा शेखर समूहबाट मिनेन्द्र रिजाल सहभागी थिए। छलफलमा सबै विषयमा सहमति नभए पनि निवर्तमान सांसद तथा दाग नलागेका व्यक्तिलाई टिकट दिने विषयमा भने गगन समूह लचक देखिएको बताइएको छ।
निर्वाचनको समय नजिकिँदै जाँदा पार्टीभित्रको यो रस्साकस्सीले कांग्रेसको टिकट वितरण र आगामी रणनीतिमा निर्णायक प्रभाव पार्ने देखिएको छ।

