काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी प्रतिनिधिसभा निर्वाचनमा रास्वपा सबैभन्दा धेरै मत ल्याउने पार्टीका रूपमा संसद् प्रवेश गर्ने दाबी गरेका छन्।
सोमबार जनकपुरमा आयोजित परिवर्तन घोषणासभालाई सम्बोधन गर्दै लामिछानेले आफू अघिल्लो निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउने सांसद बनेको स्मरण गराउँदै अब त्यो सफलता पार्टीस्तरमा दोहोरिने दाबी गरे।
“हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद बनेँ, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद् जान्छु,” उनले भने।
आफूमाथि विभिन्न मुद्दा लगाएर दैनिकजसो अदालत धाउनुपरेको उल्लेख गर्दै उनले त्यसले आफूलाई विचलित नगरेको बताए। “मुद्दाले होइन, जनताको विश्वासले मलाई अघि बढाइरहेको छ,” लामिछानेको भनाइ थियो।
‘पहिचान होइन, क्षमता हेरेर प्रधानमन्त्री छान्ने समय आयो’ : बालेन शाह
घण्टीमा भोट हाल्न मधेशलाई आग्रह
उही सभामा रास्वपाका वरिष्ठ नेता बालेन शाहले भावनात्मक होइन, सही नेतृत्व चयन गर्ने बेला आएको बताएका छन्।
“मधेशीको छोरा भएर होइन, सही मान्छे प्रधानमन्त्री बन्ने भएकाले घण्टीमा भोट हाल्नुस्,” उनले आग्रह गरे।
मैथिली भाषामा सम्बोधन गर्दै बालेनले अब काठमाडौँ अधिकार माग्न जाने ठाउँ नभई घुम्न जाने शहर बन्नुपर्ने बताए। त्यसका लागि प्रदेश र स्थानीय तहलाई बलियो बनाउनु अपरिहार्य रहेको उनको भनाइ थियो।
मिटरब्याज पीडित र उखु किसानहरू आफ्ना समस्या लिएर काठमाडौँ पुग्न बाध्य भएको प्रसंग उठाउँदै, मेयरका रूपमा आफूले चाहेजति गर्न नसकेकोमा उनले दुःख व्यक्त गरे।
“स्थानीय समस्याको समाधान स्थानीय तहबाटै हुनुपर्छ भन्ने उद्देश्यले म राष्ट्रिय राजनीतिमा आएको हुँ,” उनले भने।
पहिलो पटक खुला राजनीतिक भाषण गरेका बालेनले चार वर्ष काठमाडौँ महानगरपालिकाको काममा केन्द्रित रहेकाले अहिले मात्र राष्ट्रिय मञ्चमा सक्रिय भएको स्पष्ट पारे।

