राजु चौरसिया,कलैया, बारा | १३ माघ २०८२, मंगलबार — कलैया उपमहानगरपालिका–१० मटिअर्वा प्रवेशद्वारमा फहराइएको नेपालको राष्ट्रिय झण्डा च्यातिएको अवस्थामा देखिएपछि स्थानीयवासीहरू आक्रोशित बनेका छन्। राष्ट्रिय पहिचान र स्वाभिमानको प्रतीक मानिने झण्डा नै जीर्ण र च्यातिएको अवस्थामा रहनुले सम्बन्धित निकायको जिम्मेवारीप्रति प्रश्न उठेको उनीहरूको भनाइ छ।
प्रवेशद्वारजस्तो सार्वजनिक र प्रतीकात्मक स्थानमा राखिएको झण्डाको नियमित अनुगमन र संरक्षण हुनुपर्नेमा त्यसो नभएको भन्दै स्थानीयले गम्भीर लापरवाही भएको आरोप लगाएका छन्। “राष्ट्रिय झण्डाको सम्मान गर्नु हरेक नागरिक र सरकारी निकायको कर्तव्य हो, तर यहाँ त झण्डाकै अपमान भइरहेको छ,” एक स्थानीयवासीले गुनासो गरे।
स्थानीयहरूले तत्काल च्यातिएको झण्डा हटाएर नयाँ झण्डा फहराउन, साथै घटनाबारे छानबिन गरी जिम्मेवार पक्षमाथि कारबाही गर्न माग गरेका छन्।
राष्ट्रिय झण्डासम्बन्धी प्रचलित मापदण्ड अनुसार झण्डा सफा, अक्षुण्ण र सम्मानजनक अवस्थामा राख्नुपर्ने व्यवस्था छ। यस्तो अवस्थामा सार्वजनिक स्थलमै च्यातिएको झण्डा रहनु गम्भीर विषय भएको नागरिकहरूको धारणा छ।
यस घटनाप्रति कलैया उपमहानगरपालिकाको ध्यानाकर्षण हुनुपर्ने देखिएको छ। समाचार तयार पार्दासम्म यस विषयमा सम्बन्धित निकायको औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

