वर्तमान राजनीतिक अवस्थाको उचित निकास संविधानभित्र खोज्न सकिने विश्वास कायमै छ-सभापति देउवा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं – ३ असोज ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिन्छ भन्ने हाम्रो विश्वास कायमै रहेको बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा कांग्रेस सभापति देउवाले शुभकामना संदेश जारी गर्दै संविधान मुलुकको सर्वोच्च कानून भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने बताउनुभयो ।
वहाँले यदि यसो हुन सकेन भने राजनैतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन् झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ, वर्तमान संविधानको सफलतासँग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प नै आज हामी सबैको साझा दायित्व हो उल्लेख गर्नुभएको छ ।
संविधानले लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ, नेपाली जनताले पटक–पटक गरेकोे क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि रहेको बताउनुभएको छ ।
देउवाद्वारा जारी शुभकामना संदेशमा मुलुकमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, संघर्ष र जनआन्दोलनहरूमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात–अज्ञात बीर शहिदहरूको समर्पण र वलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान नेपाली जनताले पटक–पटक गरेकोे क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि हो । यो संविधानले लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ ।
संविधान जारी भएको एक दशक पुरा भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरव साथ स्मरण गर्दै हरेक नागरिकले आफू स्वतन्त्र र समान भएको महसूस गर्दै प्रत्येक वर्ष हर्सोउल्लासका साथ संविधान दिवस मनाउँदै आएका छौँ ।
संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यो संविधान दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
अन्त्यमा, न्याय, समानता र स्वतन्त्रता एवं वहुलवादमा आधारित वहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न पटक–पटक भएका राजनैतिक एवं सामाजिक क्रान्ति, संघर्ष र आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्ने महान सपुतहरुप्रति संविधान दिवसको यस पावन अवसरमा उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दै संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु शुभकामना संदेशमा उल्लेख गर्नुभएको छ ।

Leave a Comment