प्रशासनको अनुमति बिना कार्यक्रम गर्न जाँदै गर्दा दुर्गा प्रसाईं पक्राउ वीरगन्ज जाने क्रममा काठमाडौँबाटै नियन्त्रणमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२३ माघ २०८२, काठमाडौं। प्रशासनको अनुमति नलिइएको कार्यक्रममा सहभागी हुन वीरगन्ज जाँदै गरेका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले बाटोबाटै पक्राउ गरेको छ।

नेपाल प्रहरीका अनुसार प्रसाईंलाई शुक्रबार दिउँसो काठमाडौँको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका प्रसाईं वीरगन्जमा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन जाँदै थिए।

प्रहरी स्रोतका अनुसार स्थानीय प्रशासनको स्वीकृति नलिइएको कार्यक्रममा सहभागी हुन लागेकै कारण उनलाई पक्राउ गरिएको हो।
“अनुमति बिना हुन लागेको कार्यक्रममा जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो,” प्रहरी अधिकारीले बताए।

यसअघि पनि माघ ५ गते प्रसाईं पोखराबाट पक्राउ परेका थिए। सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरिएका उनलाई काठमाडौँ ल्याएर माघ ६ गते हाजिरी जमानीमा रिहा गरिएको थियो।

त्यतिबेला नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको भन्ने अभिव्यक्ति दिएपछि स्थिति तनावग्रस्त बनेको थियो।

राजावादी अभियन्ताका रूपमा चिनिएका प्रसाईंले विभिन्न माग अघि सार्दै २१ फागुनमा हुने निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएका छन्। यद्यपि, उनको समूह र सरकारबीच यही माघ २ गते निर्वाचन विरोधी गतिविधि नगर्ने सहमति भएको थियो।

सिंहदरबारमा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि महाभियानले तत्कालका लागि आफ्ना सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने जनाएको थियो। तर त्यसपछि पुनः कार्यक्रमको तयारी भइरहेकै बेला प्रसाईं पक्राउ परेका हुन्।

Leave a Comment