२९ असोज, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
अध्यक्ष दाहालले विश्वभरका सांसदहरूको महासंघ, अन्तर व्यवस्थापिका संघ (Inter-Parliamentary Union – IPU)को १५१औं सम्मेलनमा नेपालका तर्फबाट सहभागिता जनाउने तयारीबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।
दाहाल यही ३१ असोजमा जेनेभा प्रस्थान गर्ने कार्यक्रम छ । सो टोलीमा राष्ट्रिय सभा सदस्य तथा कर्मचारी गरी पाँच जनाको प्रतिनिधिमण्डल रहनेछ ।
यसअघि गत आइतबार दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरी सम्मेलनमा उठाइने विषयमा छलफल गरेका थिए । सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले बदलिएको नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सुझाव दिएकी थिइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको पक्ष स्पष्ट रूपमा राख्नुपर्छ । देशको ताजा अवस्थाबारे सुस्पष्ट जानकारी दिनु जरुरी छ।”
राष्ट्रपति पौडेलसँगको भेटमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको निर्वाचनलगायतका विषयमा समेत संक्षिप्त चर्चा गरेको स्रोतले जनाएको छ ।
यसअघि प्रधानमन्त्रीसँग पनि छलफल गरी विषय तय गरिएको थियो।



Leave a Reply