काठमाडौँ, शनिबार, माघ २४, २०८२ : नेपाली कांग्रेसले जनकपुरमा आयोजना गर्न लागेको मधेश सभा एक दिन अगाडि सार्ने निर्णय गरेको छ। यसअघि फागुन ७ गते तय गरिएको सभा अब फागुन ६ गते (बुधबार) जनकपुरको तृतीय गाछीमा आयोजना हुने भएको छ।
शनिबार बसेको नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमिति बैठकले सभाको मिति परिवर्तन गर्ने निर्णय गरेको हो। बैठकले सभालाई प्रभावकारी बनाउन प्रचार–प्रसार र व्यवस्थापनका जिम्मेवारीसमेत तोकेको छ।
बैठकको निर्णयअनुसार सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेश कुमार गुप्तालाई दिइएको छ भने मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गरिएको छ।
मधेश सभाको समग्र तयारी, व्यवस्थापन र संगठनात्मक पक्षलाई सुदृढ बनाउने विषयमा पनि बैठकमा विस्तृत छलफल भएको छ। सभालाई भव्य र प्रभावकारी बनाउन मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट ठूलो संख्यामा नेता–कार्यकर्ता तथा समर्थकलाई सहभागी गराउने निर्णय गरिएको छ।
मधेश प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार सभामा पार्टी सभापति गगन कुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
नेपाली कांग्रेसले जनकपुर सभामार्फत मधेश केन्द्रित राजनीतिक एजेन्डा, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे स्पष्ट सन्देश दिने तयारी गरेको जनाएको छ।

