रसुवाको बाढीले बगाएका प्रहरी जवान मुन्ना ठाकुरको प्रतीकात्मक अन्त्येष्टि, परिवारमा गहिरो शोक

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

२२ श्रावण बारा:  एक महिना अघि ड्युटीका क्रममा भीषण बाढीले बगाएका प्रहरी जवान मुन्ना ठाकुरको शव फेला नपरेपछि शुक्रबार कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिएको छ।

बाराको फेटा गाउँपालिका–१, भलुही टोल निवासी २४ वर्षीय ठाकुर सीमा सुरक्षा फाँटमा कार्यरत थिए। असार २४ गते बिहान ल्हेन्दे र भोटेकोशी खोलामा आएको आकस्मिक बाढीले ड्युटीमा खटिएका ठाकुरलाई बगाएको थियो। तत्कालै स्थानीय प्रशासन, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा व्यापक खोजी कार्य थालिएको थियो। तर, घटनाबाट एक महिना बितिसक्दा पनि ठाकुरको शव फेला पार्न सकिएन।

शव नपाएपछि धार्मिक परम्पराअनुसार कुशको प्रतीकात्मक शरीर बनाएर उनको गाउँमै अन्त्येष्टि गरिएको हो। उक्त अन्त्येष्टि कार्यक्रममा गाउँले, आफन्तजन र सुरक्षाकर्मीहरूको उपस्थिति थियो।

ठाकुरले आफ्नो ज्यानको पर्वाह नगरी कर्तव्य पालनाको क्रममा ज्यान गुमाएका हुन्, जुन सम्पूर्ण सुरक्षा निकाय र राष्ट्रको लागि प्रेरणादायी उदाहरण हो।

शोकमा डुबेको परिवारमा ठाकुरकी श्रीमती र एक सानो छोरा छन्। घरका अभिभावक गुमाएपछि उनीहरूको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ।

सरकार तथा सम्बन्धित निकायबाट यस्ता घटनामा प्रभावित परिवारलाई आवश्यक सहयोग र संरक्षण प्रदान गरिनु अत्यावश्यक देखिन्छ।

Leave a Comment